काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराउनुभएको छ। परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई २०८१ मंसिर २८ गते शुक्रबार पत्र बुझाउँदै अध्यक्ष डा. केसीले भने, "गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको छ तर यसको कार्यान्वयनमा ढिलाइ हुनुले नागरिकलाई संविधानले प्रदान गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको उपयोग गर्नबाट वञ्चित गरेको छ।"
कानूनी जटिलतासँगको सामना
अध्यक्ष डा. केसीले थप्नु भएको छ, “गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको भएपनि यसको प्रयोगमा विभिन्न कानूनी जटिलताहरू रहेका छन्। यसकारण, यससम्बन्धी नयाँ कानूनको निर्माणको आवश्यकता छ र यसका लागि परराष्ट्र मन्त्रालयबाट सहजीकरण आवश्यक छ।"
कानूनी अवरोध र एनआरएन एक्टको मस्यौदा
जवाफमा, परराष्ट्र मन्त्रालयका सचिव राईले भने, "गैरआवासीय नेपाली नागरिकता जारी गर्नुअघि नै यसका लागि आवश्यक कानून निर्माण नभएको कारण समस्याहरू उत्पन्न भएका हुन्। अब, एनआरएन एक्टको मस्यौदा तयार भएको छ र यो कानून पास भएपछि समस्याको समाधान स्पष्ट हुनेछ।"
इराकमा नेपालीहरूको समस्याः पासपोर्ट नवीकरणको सुविधा
अध्यक्ष डा. केसीले इराकको कुर्दिस्तानमा बसोबास गर्ने नेपालीहरूको लागि पासपोर्ट नविकरण र अन्य सुविधाहरूको पहुँचमा समस्या रहेको विषयलाई पनि उठाए। उनले कुवेतस्थित नेपाली दूतावासमार्फत उक्त सुविधा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरे। का.मु सचिव राईले उक्त विषयमा मन्त्रीस्तरीय निर्णय गरी छिट्टै पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रूस, चेक रिपब्लिक र अन्य मुलुकमा समस्याहरू
त्यसपछि, अध्यक्ष डा. केसीले रूस, चेक रिपब्लिक, थाइल्याण्ड, म्यानमार, मलेसिया र फिजी लगायतका मुलुकहरूमा बसोबास गर्ने गैरआवासीय नेपालीहरूको समस्यामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले श्रम स्वीकृति र नवीकरण प्रक्रियामा समस्या आएको बताए र यसलाई सहजीकरण गर्न आग्रह गर्नुभयो।
गैरआवासीय नेपाली ऐनमा संशोधनको आवश्यकता
अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी समय नेपालबाहिर बसोबास गर्ने नेपालीहरूको लागि नयाँ व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, उनले विदेशमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सोही परिभाषामा समेट्न र संविधानको धारा २९१ मा भएका अवरोधहरूको सुधार गर्न पहल गर्न अनुरोध गरेका छन् ।
विदेशमा नेपाली दूतावासको आवश्यकता
अध्यक्ष डा. केसीले विदेशका विभिन्न मुलुकहरूमा नेपाली दूतावास र नियोग स्थापना गर्न र जहाँ दूतावास छैन, त्यहाँ मानार्थ प्रतिनिधि नियुक्त गर्न सुझाव दिए। उनले गैरआवासीय नेपाली संघको सुझाबमा अन्तर मन्त्रालयस्तरीय कार्यशाला गरेर तत्काल समाधान निकाल्न पनि आग्रह गरेका छन् ।
नेपालमा हवाई यात्रा र अन्य सुविधाहरू
अध्यक्ष डा. केसीले नेपाल सरकारबाट जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरूलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने गरेकोमा असन्तोष व्यक्त गर्दै नेपाल नागरिक सरह हवाई यात्रा सुविधा उपलब्ध गराउन आग्रह गरे। उनले ब्रिटिश गोर्खा सैनिकका समान हक र अधिकारका विषयमा पनि कूटनीतिक माध्यमबाट समाधानको लागि सरकारसँग पहल गर्न माग गरेका छन् ।
आन्तरिक हवाई भाडा असमानता
अध्यक्ष डा. केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा आन्तरिक हवाई यात्रा गर्दा विदेशी नागरिक सरह भाडा लिने असमान व्यवस्थालाई हटाउन पनि सरकारसँग अनुरोध गरेका छन् ।
समाधानका लागि प्रतिबद्धता
जवाफमा, का.मु सचिव राईले सबै समस्याहरू क्रमशः समाधान गरिने र सम्बद्ध मन्त्रालयहरूसँग समन्वय गरी समस्याको समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिकृया दिनुहोस