• बिहीबार-जेठ-१-२०८२

अध्यक्ष दाहालसँग भेटेर उजुरी रोक्न दबाब, बलात्कार आरोपी मेयर फरार

काठमाडौं । बलात्कार आरोपमा फरार रहेका सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले उजुरी पर्नु अघि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग भेट गरेको खुलासा भएको छ। माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अधिकारीले आफूविरुद्ध जाहेरी नपरोस् भनेर राजनीतिक पहुँच प्रयोग गरेको आरोप लागेको छ।

(राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल / सिन्धुलीको दुधौली पालिकाका मेयर दिनेश अधिकारी)

१८ वर्षीया युवतीले मेयर अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जबर्जस्ती करणीको उजुरी दिएपछि उनी फरार भएका हुन् । पीडितले अधिकारीबाट गर्भवती भइ सन्तान समेत जन्मिएको दावी गरेकी छिन्।

 

सूचनाका अनुसार, उजुरी दर्ताको अघिल्लो दिन सांसद राजन दाहालसहित मेयर अधिकारीले राष्ट्रियसभा अध्यक्ष दाहालकोमा पुगेर जाहेरी नदिन प्रहरीलाई दबाब दिन अनुरोध गरेका थिए। अधिकारीका सहयोगीले भेटको तस्बिर फेसबुकमा सार्वजनिक गरेपछि घटनाको पुष्टि भएको हो।

 

यसअघि पनि माओवादी नेताहरूले उजुरी नपरोस् भनेर विभिन्न दवावहरू दिएका थिए । तर, पीडितको संघर्ष, सामाजिक दवाव र घटनासँग जोडिएको बच्चाको अस्तित्वले प्रहरीलाई उजुरी लिन बाध्य बनाएको हो। उजुरी परेपछि प्रहरीले मेडिकल परीक्षण तथा डीएनए जाँचको प्रक्रिया अघि बढाएको खबर छ।

 

स्थानीय तह निर्वाचन २०७९ मा अधिकारीलाई उम्मेदवार बनाउने क्रममा पनि अध्यक्ष दाहालकै विशेष पहल रहेको सिन्धुलीका माओवादी नेताहरू बताउँछन्। अन्य याेग्यतम्, त्यागी नेताहरूलाई बेवास्ता गर्दै अधिकारीलाई उम्मेदवार बनाउने निर्णयमा दाहालको निर्णायक भूमिका रहेको स्रोतको दावी छ।

 

घटनाले राजनीतिक पहुँचको दुरुपयोग, यौन अपराध र न्यायप्राप्तिमा हुने अवरोधलाई उजागर गरेको छ। अब प्रहरीको अनुसन्धान र न्यायिक प्रक्रियाबाट पीडितले न्याय पाउलान् भन्ने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस