• सोमबार-बैशाख-१५-२०८२

सशस्त्र प्रहरी : कनिष्ठलाई महत्वपूर्ण जिम्मेवारी, शक्तिशाली डीआईजीहरूलाई रोजेको कार्यालय 

 

काठमाडौं । गृह मन्त्री रमेश लेखकले ०८२ बैशाख ११ गते सशस्त्र प्रहरी बल नेपालका १२ जना डीआईजीहरूको सरुवा गरेका थिए । उक्त सरूवामा वरिष्ठलाई पन्छाएर कनिष्ठहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै संगठनभित्र असन्तुष्टि बढेको समाचार छ ।

 
वटा प्रदेश प्रमुख, काठमाडौं उपत्यका हेर्ने जिम्मेवारी बोकेको पशुपति बाहिनीका डीआईजी, एपीएफ स्टाफ कलेज, राष्ट्रिय सुरक्षा परिषद सचिवालय र हेडक्वार्टरको मानवस्रोत र कार्य विभागका डीआईजीहरूको सरूवा गरिएको थियो । सरूवा सूची अनुसार बागमती प्रदेश नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा कार्यरत डीआईजीपी गणेश बहादुर ठाडा मगरलाई हेडक्वार्टरको कार्य विभाग भित्र्याइएको छ ।


गण्डकी प्रदेश नं. ४ मुक्तिनाथ वाहिनी मुख्यालय कास्कीका डीआईजी कुलबहादुर नेम्बाङ्गलाई सशस्त्र बल हेडक्वार्टरको मानवश्रोत विभागमा सरुवा गरिएको छ । नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत डीआईजीपी शम्भु सुवेदीलाई भने एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सरुवा गरिएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कालीदास धौवजीलाई भने सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हेडक्वार्टरमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजीपी कुमार न्यौपानेलाई १ नं बराह बाहिनी मुख्यालय सुनसरीमा खटाइएको छ ।


नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यतर डीआईजी प्रदीप कुमार पालको नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र एपीएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंबाट डीआईजी अञ्जनी कुमार पोखरेललाई न.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरूवा गरिएको छ । मानवस्रोत विभागमा कार्यरत डीआईजीपी दीपेन्द्र शाहको सरुवा नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की पोखरामा गरिएको छ ।

 

सशस्त्र वल हेडक्वार्टरको कार्य विभागको जिम्मेवारीमा रहेका डीआईजीपी पुरूषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरवारमा खटाइएको छ । नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका डीआईजीपी दीपक अधिकारीको सरुवा मानव स्रोत विभाग हेडक्वार्टरमा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारका डीआईजीपी कृष्ण ढकाललाई भने न. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा खटाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजी ज्वाईं अर्थात् स्वकीय सचिव भानु देउवाका बहिनी ज्वार्इंसमेत रहेका शक्तिशाली डीआईजीपी दीपेन्द्र कुँवरको हेडक्वार्टर मानवस्रोत विभागबाट न. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीमा सरूवा गरिएको छ । 


यो सरूवामा लुम्बिनीबाट सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पाउने एक मात्र भाग्यमानी डीआईजीमा प्रदीप कुमार पाल परेका छन् । उनलाई गृहमन्त्री लेखक र बुढानीलकण्ठ दरबारले धेरै मायाँ गरेको चर्चा छ । त्यस्तै कोशी प्रदेशमा कुमार न्यौपाने, मधेस प्रदेशमा कृष्ण ढकाल, बागमती प्रदेशमा अन्जनी कुमार पोखरेल, लुम्बिनी प्रदेशमा दीपेन्द्र कुँवरले राम्रो जिम्मेवारी पाएका छन् । दुई महिना अगाडिमात्र डीआईजीपीमा बढुवा भएका सशस्त्र प्रहरीका दुई जना कनिष्ठ डीआईजीपीहरूले गृहमन्त्री लेखकलाई खुसी तुल्याएर  मधेस र लुम्बिनी जस्तो आकर्षक र मालदार प्रदेशको जिम्मेवारी पाएको भन्दै संगठनभित्र चर्चा चल्ने गरेको छ ।


कोशी प्रदेश प्रमुखमा भने आईजीपी राजु अर्यालको कोटाबाट सचिवालयका कुमार न्यौपाने सरूवा हुन सफल भएका छन् । डीआईजीपी पुरूषोत्तम थापालाई यसपाली हाजिर गरेर जागिर खाने र सशस्त्र प्रहरीमा कालापानी मानिने राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा लखेटिएको छ । परिषदमा खासै काम नहुने बताइन्छ । दैनिक कार्यालय जाने चिया खाने र भेटघाट, गफ गरेर दिन काट्ने मात्रै काम हुने गरेको भुक्तभोगी स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १५)
 

प्रतिकृया दिनुहोस