• बुधबार-बैशाख-१७-२०८२

शहीदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

 

कञ्चनपुर, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

 

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुग्नुभएका अध्यक्ष दाहालले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक शहीद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताउनुभयो ।

 

अध्यक्ष दाहालले शहीद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । शहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उहाँले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताउनुभयो ।
 

जनताको  बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भन्नुभयो । त्यस अवसरमा उहाँले शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
 

यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष दाहालले उद्घाटन गर्नुभएको छ । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उहाँले अवलोकन गर्नुभएको छ ।

 

आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गर्नुभयो । भेटमा उहाँले शहीदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।
–––

 

प्रतिकृया दिनुहोस