काठमाडौं, २८ बैशाख । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ ।
बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आसन्न आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गरेका छन ।
बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबर्जस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले जेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ ।
‘जनआन्दोलन प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको शुभारम्भ जेठ ८ गते काठमाण्डौंको साँखुबाट हुनेछ । जेठ ११ गतेसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सयौं सभाहरु गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुनेछ,’ उनले भने, ‘जन आन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ ।’
यसअघि आज बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।
प्रतिकृया दिनुहोस