काठमाडौँ, ३१ बैशाख । नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो । पहाड काटेर बनेको त्यो सडक, सधैंजस्तै भिड थियो । ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) हरेक दिनझैं ड्युटीमा खटिएका थिए , पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर ।
सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त थिए । जस्तै सामान्य दिनहरूमा हुन्छ, सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर खटिइरहेका थिए ।
तर त्यो दिन फरक भयो ।
एक्कासी एक आवाज आयो चर्को, आदेशात्मक । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए । अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिंगारी पनि । उनी सिधै हवल्दारतिर गए । सहायक हवल्दार केही भन्न नपाउँदै, साहको हातको चड्कन उनको अनुहारमा बज्रियो ।
रमेशले बुझ्न सकेनन्, आफ्नो कुनै गल्ती भयो कि ? उनले गाडी रोकेका थिए, चालकसँग कुरा गरिरहेका थिए, त्यसैबीच आवाज आयो ।
"हवल्दार ! के गर्दैछौ तिमी ?"
उनी फर्किए, डराए । केही बोल्न नपाउँदै, चुँडिएको बिजुलीझैं एक चड्कन बज्यो, रमेशको अनुहारमा, आत्मसम्मानमा ।
उनको गाला रातो भयो, आँखा रसाए । तर आँसु खस्न दिएनन्, त्यो पोशाकले आँसु सहँदैन ।
त्यो चड्कनले गाडीको आवाजभन्दा ठूलो प्रतिध्वनि दिएको थियो । मान्छेहरूको मनभित्र । कोही चुपचाप हेरे, कोही मोबाइल निकालेर भिडियो खिच्न थाले । केही मिनेटमै त्यो भिडियो सामाजिक सञ्जालमा फैलियो, आगोले झुस्सिएको झारजस्तै ।
सहायक हवल्दार मौन थिए, अनुहार झुकाएको, सायद अनुशासनको कारण, सायद डरको कारण, वा शायद अपमानले शब्दै हराएको थियो ।
ट्राफिक प्रहरीले अनुशासन र सेवा भावको प्रतीक मानिन्छ । तर जब नेतृत्वले नै आफ्नो मातहतमाथि हात उठाउँछ, त्यो अनुशासन कता जान्छ ? त्यो मर्यादा कुन कुनामा लुकेर बस्छ ?
सोधिरहेका छन् आमनागरिक, "यो कुन प्रकारको नेतृत्व हो ?"
नागढुंगाको त्यो बिहान अब सामान्य रहेन । त्यो चड्कन अब केवल एक व्यक्तिको गालामा परेको हात होइन, त्यो सम्पूर्ण संगठनको आन्तरिक आवाजमाथि परेको चड्कनजस्तै महसुस हुन थाल्यो ।
तर रमेश चुपचाप रहे । किनकि उनी एक प्रहरी थिए । जसले न्याय दिन सक्छ, तर आफूले पाउँदैन ।
त्यो साँझ, ड्युटी सकिएपछि उनले आफ्नो डायरी खोले । लेखे :- "आज गालामा होइन, मनमा बज्यो चड्कन । अनि प्रहरी हुनुको मूल्य थाहा भयो, मौन बस्नु ।"
प्रतिकृया दिनुहोस