• आइतबार-जेठ-४-२०८२

आर.आर. क्याम्पसमा साहित्य सन्ध्याको विशेष शृङ्खला सम्पन्न

अभिव्यक्ति स्वतन्त्रता र जननेता मदन भण्डारीको योगदानबारे विशेष चर्चा

 

 

काठमाडौं, जेठ ४ । आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा २०८२ जेठ ३ गते शनिबार सम्पन्न साहित्य सन्ध्याको ४६३औँ मासिक शृङ्खला अभिव्यक्ति स्वतन्त्रता र जननेता मदन भण्डारी–जीवराज आश्रितको स्मृतिमा केन्द्रित रह्यो।

कार्यक्रमको पहिलो भागमा ‘संघीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा परिचर्चा भएको थियो। विशेष अतिथि तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले साहित्य सन्ध्याको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको मर्यादित प्रयोगको खाँचो औंल्याए। “अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, तर यसको प्रयोग मर्यादित र जिम्मेवार ढंगले हुनुपर्छ,” उनले भने।

कार्यक्रमको दोस्रो भागमा ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’ विषयमा प्रमुख अतिथि प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले विशेष प्रस्तुति दिए। उनले मदन भण्डारीको बनारस बसाइँदेखि नेकपा माले, एमालेको महासचिवसम्मको यात्रा र वैचारिक हस्तक्षेपलाई विशेष रूपमा उल्लेख गरे। “आजकै दिन उनीहरू दुर्घटनामा परेका थिए, यो नेपाली राजनीतिका लागि कालो दिन हो,” उपाध्यायले भने।

कार्यक्रममा पोएट्री सेसन (कविगोष्ठी) समेत राखिएको थियो। ओमप्रसाद कोइराला, डम्बर पहाडी, डा. मनोज जोशी, गोपाल नेपाल, प्रशान्त खरेल, रूपक अलङ्कारलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना कविता, गीत र गजल वाचन गरेका थिए। प्रमुख अतिथि उपाध्यायले वाचन गरिएका रचनामाथि टिप्पणी गर्दै विचार, लालित्य र शिल्प तीनै पक्ष सशक्त हुनुपर्ने औंल्याए।

कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतासचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको हो।
सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले आगामी महिनामा पनि समसामयिक विषयमा बहस र सृजनात्मक प्रस्तुतिहरू जारी रहने जानकारी दिए।

प्रतिकृया दिनुहोस