• आइतबार-जेठ-४-२०८२

‘रोल्पा : टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

 

काठमाडौं । ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ । ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो ।

 

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

 

फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ । फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन् ।


फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवर्द्धनमा क्रियाशील छन् । उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो । उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन् । साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन् । 


उनी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन् । उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन् ।
 उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन् । रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन् ।

 

उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन् ।

 

यिनै पर्यटन विकास र प्रवद्र्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन् ।
 

 

 

प्रतिकृया दिनुहोस