ढाका, ५ जेठ । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।
फारियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ । अध्यागमन अधिकारीहरुका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारिया विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ । जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।
फारियामाथि शेख हसिनाका समर्थकहरूले सुरु गरेको प्रति आन्दोलनलाई आर्थिक सहयोग गरेको र हिंसात्मक झडपलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको आरोप लगाइएको छ । यी आन्दोलनका क्रममा भएको हिंसाले देशभर अराजकता निम्त्याएको थियो, त्यसपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भाग्नु परेको थियो भने अहिले उनी भारतमा शरण लिइरहेकी छिन् ।
खासमा नुसरत फारिया बंगलादेशकी प्रमुख युवा अभिनेत्रीमा गनिन्छिन् । उनले रेडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् र सन २०१५ मा बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकीः ट्रु लभ’ बाट अभिनयको संसारमा प्रवेश गरेकी थिइन् । उनको सबैभन्दा चर्चित भूमिका २०२३ को बायोपिक ‘मुजिबः द मेकिंग अफ नेशन’ मा थियो, जसमा उनले शेख हसिनाको भूमिका निभाएकी थिइन् ।
यो फिल्मलाई प्रसिद्ध भारतीय निर्देशक श्याम बेनेगलले निर्देशन गरेका हुन् ।
प्रतिकृया दिनुहोस