• बिहीबार-जेठ-८-२०८२

डिआईजी बढुवामा विवाद : रेग्मीविरुद्ध गृहमा युवराज सफलको उजुरी

 

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीमा हिजाे साँझ भएको डिआईजी पदको बढुवालाई लिएर विवाद मच्चिएकाे छ ।

 

बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् ।  उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

 

सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् । उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्काको श्रीमतीसँग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ । 'त्यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,' सफलले भनेका छन् । 

 

उनका अनुसार पीडित भनिएका दीपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागज पत्रमा फसाउने प्रयास गरिएको थियो । सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन् ।

 

'छानबिन नसकिँदै विवादित व्यक्तिलाई डिआइजी सिफारिस गर्नु नाजायज छ,' उनी भन्छन् । सफलले यदि रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

 

प्रतिकृया दिनुहोस