• शनिबार-जेठ-१०-२०८२

९९औँ ‘अविरल जनसाहित्य यात्रा’मा डा. विदुर चालिसेका कविता गुञ्जिए


 जेठ १०, काठमाडौं  । नेपाली प्रगतिवादी साहित्य यात्रामा योगदान पुर्‍याउँदै आएका प्रा.डा. विदुर चालिसेका कविता ९९औँ ‘अविरल जनसाहित्य यात्रा’मा गुञ्जिएका छन्। राष्ट्रिय जनसाहित्यिक संघ, नेपालद्वारा आयोजित उक्त यात्रा २०८२ जेठ १० गते शनिबार बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा विशेष समारोहका रूपमा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख आतिथ्यता महासङ्घकी अध्यक्ष भूमिका सुब्बाले गर्नुभएको थियो भने अध्यक्षता संघकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभयो। समारोहको सञ्चालन महासचिव डा.कृष्ण सुवेदीले गर्नुभएको थियो।

अविरल जनसाहित्य यात्रा अन्तर्गत देशभरिका प्रगतिवादी स्रष्टाहरूको कविता वाचन तथा समीक्षा गर्ने परम्परालाई निरन्तरता दिँदै आयोजित यस ९९औँ शृङ्खलामा डा. चालिसेका एक दर्जन कविता प्रस्तुत गरियो।

कविता रचनाका गर्भ र विद्रोही स्वर


कार्यक्रममा ‘के दिऊँ तिमीलाई ?’, ‘सालिकजस्तैलाई’, ‘रोटी सेकाइरहँदा’, ‘दर्शकहरू’ लगायतका छ वटा गद्यकविता वाचन गर्दै डा. चालिसेले कविता सिर्जनाका प्रेरणा, परिवेश र सामाजिक मूल्यांकनको सन्दर्भमा मन्तव्य राख्नुभएको थियो।

कविताहरूमा श्रमको अपहेलन, विस्थापन, वैदेशिक रोजगारी, राष्ट्रवाद, सत्ता र सालिकप्रतिको प्रश्न, र बौद्धिक विद्रोहलाई जीवन्त रूपमा चित्रण गरिएको थियो। उहाँले भन्नुभयो, “भावना कविको निजी कुरा हो, तर त्यो समाजको चित्रण हो।”

 

सहकवि र समीक्षकको उल्लेखनीय उपस्थिति


समारोहमा सहयोगी कविहरू सोमनाथ दाहाल, गोपालकुमार मैनाली, भवानी पाण्डे, डम्बर पहाडी, नमुना शर्मा र त्रिलोचन आचार्यले पनि आ-आफ्ना प्रगतिशील र वैचारिक कविता वाचन गर्नुभएको थियो।

डा. रमेश शुभेच्छुले वाचित कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै भन्नुभयो- “डा. चालिसेका कवितामा द्वन्द्वात्मक चिन्तन, मार्क्र्सवादी दृष्टिकोण, प्रयोगवादभित्र प्रगतिशील चेत र गहिरो सामाजिक आलोचना देखिन्छ।”

उहाँका अनुसार चालिसेका कवितामा बौद्धिकता र विद्रोहको संयोजन, रूपान्तरणको आकांक्षा र बहुअर्थी विम्ब प्रयोग प्रभावशाली छन्।

 

साहित्यिक यात्राको सार्थकता


अध्यक्ष सत्यालले समारोहमा अविरल जनसाहित्य यात्राको उद्देश्य र इतिहास प्रस्तुत गर्दै, “२०७० सालको चैत्र १४ गते डा. मोदनाथ प्रश्रितबाट प्रारम्भ भएको यो अभियान आज ९९ औँ शृङ्खलामा पुगेको छ,” भन्नुभयो।

सङ्घका उपाध्यक्ष रमेश पोखरेलले डा. चालिसेलाई “शालीन विद्रोहका सशक्त शिल्पी”को रूपमा चित्रण गर्दै आगामी शृङ्खलामा काभ्रेको स्रष्टा भवानी पाण्डेलाई प्रस्तुत गरिने जानकारी गराउनुभयो।

समारोहमा संघका संरक्षक प्रेमनाथ अधिकारी, सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरी, वासुदेव अधिकारी, डा. रोजेन्द्रप्रसाद अधिकारी, नन्दु उप्रेती, प्रभाती किरण, केशव चालिसे, डा. हरिप्रसाद सिलवाललगायत प्रगतिशील स्रष्टाहरूको उपस्थिति थियो।

🖋️ साँघु न्यूज डटकमका लागि विशेष प्रतिनिधि
📸 तस्बिर: राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल
 

प्रतिकृया दिनुहोस