• आइतबार-असार-८-२०८२

मायाले हेरिदेउ भन्दै आइन् बबिना (भिडियो सहित)

 

काठमाडौं । गायिका तथा संगीतकार बबिना भट्टराईको नयाँ प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना कैलाश घिमिरेको छ भने संगीत तथा स्वर स्वयं बबिना भट्टराईको रहेको छ ।

नेपाली आधुनिक गीतसंगीतमा कोमलता, सादगी र भावनात्मक मिठास प्रस्तुत गर्न सिपालु बबिनाले यस गीतमार्फत पुनः एकपटक प्रेममा गहिरो डुबुल्की मार्ने प्रयास गरेकी छिन् ।

‘तिम्रै मुटुमा धड्किन चाहन्छु,
मायाको झरी बनी तिम्रै लागि बर्सिन चाहन्छु’

यी हरफहरूबाट सुरु हुने गीतमा प्रेमीको समर्पण, व्यथा र प्रेमको शक्ति नझुक्ने आवाजमा प्रस्तुत गरिएको छ । गीतकार कैलाश घिमिरेले शब्दमार्फत मायालाई झरी, नजरलाई प्यास, र प्रेमलाई अमृतसँग तुलना गरेका छन् ।

गीतमा प्रेमी प्रेमिकाको हेराइ, स्पर्श र मायामा सम्पूर्ण अस्तित्व समर्पण गर्न चाहन्छ । मायाको अमृत पिलाई प्रेममा बिलिन हुन चाहन्छ ।

‘म त प्यासी तिम्रै नजरको,
सुस्तरी आँखाले आएर छोइदेऊ मलाई’

प्रेमिल नजरको स्पर्शबाट उत्पन्न भावना, बेचैनी र मोह गीतमा जीवन्त रूपमा उतारिएको छ ।

गीतमा प्रयोग गरिएका प्रतीकहरू – झरी, नजर, अमृत, अंगालो – सबैले प्रेमको शुद्धता, स्थायित्व र समर्पणलाई चित्रण गर्छन् ।

सादगीमै मिठास


संगीत संयोजनमा कुनै जटिल प्रयोग नगरिए पनि गीत भावनाले भरिएको छ । श्रोताले गीत सुन्दा स्वर, शब्द र संगीत एउटै भावधारामा बहिरहेको महसुस गर्न सक्छन् ।

गीतको संगीत संयोजन देवेन्द्र नेवाःले गरेका हुन् । दिल समर्पण र राजाबाबु थारुले रेकर्ड गरेका गीतको मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

भिडियोमा बबिना भट्टराई आफैँ फिचर्ड भएकी छिन् भने निर्देशन ए.जे. अजुले गरेका छन् । भिडियो सम्पादन अनिल विष्ट प्युठानीको छ । श्रृङ्गार रोजिना श्रेष्ठले गरेकी छन् ।

गीत गायिका बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘तिम्रै मुटुमा’ गीत बबिनाको कोमल स्वर, कैलाश घिमिरेको भावुक शब्द र सादगीपूर्ण संगीतले प्रेमिल मुडमा डुबाउने नयाँ सृजना बनेको छ ।

▶️ हेर्नुहोस् गीतको भिडियो:

प्रतिकृया दिनुहोस