बाजुरा, २४ जेठ : बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।
बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताउनुभयो ।
आगलागिबाट पिडित भएकाहरुको क्षतिपुर्तिका लागि प्रहरीलाई तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र सङ्घीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो । घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधी राजनितिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र सो क्षतिपुर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगर प्रमख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो । बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव रहेको पाइएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।
–––
प्रतिकृया दिनुहोस