‘ग्लोबल स्काई क्लब कार्ड’ बाट पहिलो टिकट नि:शुल्क: ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीच नयाँ सहकार्य

काठमाडौं । ग्राहकलाई थप आकर्षक सुविधा र डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्य गर्दै ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ। उक्त कार्डमार्फत यती एअरलाइन्सको टिकट पहिलो पटक खरिद गर्दा यात्रुले टिकटको पूरै रकम बराबर क्यासब्याक पाउनेछन्। यसैगरी, कार्ड प्रयोगकर्ताले भविष्यमा टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।
काठमाडौंमा हालै आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा स्काई क्लब कार्ड सार्वजनिक गरेका थिए।
पहिलो टिकट नि:शुल्क, थप सुविधासमेत
यो योजना अन्तर्गत कार्ड प्रयोगकर्ताले पहिलोपटक यती एअरलाइन्सको टिकट खरिद गर्दा पूरै रकम क्यासब्याकको रुपमा फिर्ता पाउनेछन्। त्यसपछि हरेक टिकट खरिदमा छुटको सुविधा, बोनस पोइन्ट संकलन, प्राथमिक चेक–इन सुविधा र अधिकतम ५ किलोग्रामसम्म अतिरिक्त तौल सुविधा प्राप्त हुनेछ।
साथै, कार्ड जारी गरिँदा ग्राहकलाई सुरुवाती १०० बोनस पोइन्ट दिइनेछ, जुन विभिन्न सेवा वा उपहारको रूपमा प्रयोग गर्न सकिनेछ। कार्डबाट पीओएस (Point of Sale) वा ई–कमर्स प्लेटफर्ममार्फत कारोबार गर्दा प्रत्येक १०० रुपैयाँको खरिदमा १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ।
हवाई यात्रालाई झन् सहज र विशेष बनाउने उद्देश्य
यती एअरलाइन्सका अनुसार, कार्डधारी यात्रुहरूलाई विमानस्थलमा प्राथमिकता दिइनेछ। चेक–इन र बोर्डिङ प्रक्रियामा छिटो सुविधा दिइनेछ भने अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम बढी लगेज लैजान सकिने व्यवस्था पनि गरिएको छ। यस्तो सुविधा बढी सामानका साथ यात्रा गर्ने यात्रुका लागि विशेष लाभदायक हुने विश्वास बैंक र एयरलाइन्स दुवैको छ ।
सरोकारवालाको धारणा
ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले यती एअरलाइन्ससँग सहकार्य गरिएको बताए। उनले भने, “ग्लोबल आइएमई बैंक सधैं नवीन प्रविधिको प्रयोगसहित ग्राहकमैत्री सेवा ल्याउन अग्रसर छ। यो योजना डिजिटल बैंकिङलाई थप सशक्त बनाउनेछ।”
त्यस्तै, यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले भने, “यो सहकार्यले दुवै संस्था तथा तिनका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ। भविष्यमा अझ परिस्कृत योजना ल्याउनेछौं।”
बैंक र एयरलाइन्सको दरिलो पहिचान
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा फैलिएको पहिलो निजी वाणिज्य बैंक हो। हाल बैंकसँग ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन्। साथै, बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, साउदी अरब, कतार लगायत थुप्रै देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको छ।
उता, यती एअरलाइन्स नेपाली आकासमा २६ वर्षदेखि सेवा दिइरहेको अग्रणी निजी वायुसेवा कम्पनी हो। ७ एटीआर ७२ जहाजमार्फत देशका प्रमुख गन्तव्यहरूमा उडान भर्दै आएको यतीले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सुरक्षित सेवा प्रदान गर्दै आएको छ। यतीको भगिनी संस्था तारा एयरले दुर्गम तथा विकट भेगका नागरिकलाई सुलभ हवाई सेवा उपलब्ध गराउँदै आएको छ।
प्रतिकृया दिनुहोस