• सोमबार-असार-२-२०८२

अबैध सामान बरामद : भैरहवा नाका हुँदै राजस्व छली गर्नेहरू प्रहरीको फन्दामा

 

भैरहवा, असार २ । रुपन्देही जिल्लाका विभिन्न स्थानमा सक्रिय प्रहरी टोलीहरूले ठूलो मात्रामा अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका ईकाईहरूले जेठ ३१ र  २०८२ असार १ गते गरेको संयुक्त चेकजाँच अभियानमा करीब २१ लाख रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको हो ।

प्रहरीले भन्सार तथा राजस्व छली गरी चोरी निकासी–पैठारी गरिएको सामग्रीहरू नियन्त्रणमा लिएर असार १ गते भैरहवा भन्सार कार्यालय, बेलहिया तथा राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाएको छ । बरामद विवरण यसप्रकार छ :

१. मोटरसाइकलमा ल्याइएको अवैध सामग्री


जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–४ भैयाटोल र मायादेवी गाउँपालिका–६ गोनाहबाट लु ११ प ५०६५ र लु ५४ प ४४२३ नम्बरका दुई मोटरसाइकलमा राखी ल्याइएका १५ थान लगेज ब्याग, ३०० थान महिलाले प्रयोग गर्ने भित्री वस्त्र र विभिन्न तरकारीहरू बरामद गरेको छ । ती सामग्रीको अनुमानित मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ ।

२. बसपार्कबाट बरामद कस्मेटिक सामान


इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले सिद्धार्थनगर नगरपालिका–१ बसपार्क क्षेत्रमा विशेष चेकजाँच गर्दा अवैध रूपमा ल्याउँदै गरिएको विभिन्न प्रकारका कस्मेटिक सामग्री फेला पारेको छ । ती सामग्रीको मूल्य करिब १ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

३. बेवारिसे अवस्थामा मोबाइल कभर बरामद

प्रहरी चौकी कालिदहको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ आमापुलस्थित क्षेत्रमा छाडिएको अवस्थामा भेटिएका २०० थान मोबाइल कभरहरू बरामद गरेको छ । ती सामग्रीको अनुमानित मूल्य ४० हजार रुपैयाँ रहेको छ ।

४. ट्रकमा राजस्व छली गर्दै ल्याइएको सामग्री


अस्थायी प्रहरी पोस्ट गल्लामण्डीको टोलीले सिद्धार्थनगर नगरपालिका–४ सुगरमिल चोकबाट पर्वतका काजिमान सुनारले चलाएको ग १ ख ३५३४ नम्बरको ट्रक रोकेर जाँच गर्दा बिलबिनाका ५७ कार्टुन तेल, १३ थान ग्रेनाइट टायल्स र १८ बोरा (४५० किलो) चिनी फेला पारेको छ । ती सामग्री ट्रकसहित नियन्त्रणमा लिई चालकलाई समेत पक्राउ गरिएको छ । बरामद सामग्रीको मूल्य करिब १७ लाख ४६ हजार ३८० रुपैयाँ रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बरामद सामग्री, सवारीसाधन र संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको छ ।

साँघु न्यूज डटकम
 

प्रतिकृया दिनुहोस