काठमाडौं, २ असार । अमेरिका चरित्र पनि आफैमा अद्वितीय रहेको छ ।
खासमा संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्ष गरिरहेको छ ।
गत आइतबार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक र सेनाले उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ देशका हजारौं जनता ट्रम्प विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका थिए । यससँगै लोकतान्त्रिक पार्टीले देशका सर्वोच्च नेतामाथि तानाशाहीको आरोप मात्रै लगाएन, नाराबाजी र देशैभरी प्रदर्शनसमेत गरेका छन् ।
लामो समय पछि फेरि पनि लोकतन्त्र र नागरिक अधिकारको पक्षमा सडकमा अमेरिकनहरूको भिड जम्मा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूमा विशेष गरी आप्रवासीहरू माथिको ज्यादतीको विरुद्धमा शनिबार र आइतबार देशभर व्यापक विरोध प्रदर्शन भएको छ । यी प्रदर्शनहरूलाई ‘नो किंग्स’ आन्दोलनको नाम दिइएको थियो, जुन ट्रम्पको ‘तानाशाही शैली’ विरुद्ध आवाजको रूपमा उभिएको थियो ।
प्रदर्शनकारीहरूले ट्रम्पले अमेरिकालाई लोकतन्त्रबाट हटाएर एक व्यक्तिको शासन अर्थात् तानाशाहीतर्फ लैजाँदै गरेको गम्भीर आरोपसमेत लगाएका छन् । अमेरिकाको साना सहरदेखि ठूला सहरसम्म हजारौं मानिस सडक, पार्क र चोकमा उत्रिएर ट्रम्पको बिरोध गरेका थिए । उनीहरुले हातमा ब्यानर बोकेर ‘तानाशाही चल्दैन, आप्रवासी अधिकार जिन्दाबाद’ जस्ता नारा लगाएका थिए ।
यस राष्ट्रव्यापी विरोधको प्रतिध्वनि एटलान्टा, फिलाडेल्फिया, शिकागो, अस्टिन, न्युयोर्क र लस एन्जलस जस्ता शहरहरूमा स्पष्ट रूपमा सुनिएको थियो । स्थिति सियाटलमा अझ विशेष थियो, जहाँ स्थानीय प्रशासनका अनुसार ७० हजार भन्दा बढी मानिसहरू एकै पटक सडकमा उत्रिएर विरोध प्रदर्शनमा सामेल भएका थिए । आयोजकका अनुसार अमेरिकाका सयौं स्थानमा लाखौं मानिस यस आन्दोलनको हिस्सा बने र ट्रम्प सरकारलाई लोकतान्त्रिक चेतावनी दिएका छन् ।
तर, यी प्रदर्शनका क्रममा केही ठाउँमा हिंसात्मक घटना पनि भएका छन् । लस एन्जलस र पोर्टल्यान्डमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रु ग्याँसको प्रयोग गरेको थियो। साल्ट लेक सिटीमा प्रदर्शनका क्रममा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।
साल्ट लेक सिटीका प्रहरी प्रमुख ब्रायन रेडले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको तर घटनाको पछाडि कुनै राजनैतिक नियत थियो वा नभएको कुनै कुरा पनि बताएनन । आक्रमणकारी जुलुसमा सहभागी भिडसँगै हिँडिरहेका थिए, जसले यसलाई अझ संवेदनशील विषय बनाएको थियो।
प्रतिकृया दिनुहोस