धरान । धरानको स्थानीय राजनीतिमा फेरि एक पटक तीव्र तानातानी देखिएको छ। उपमेयर आइन्दु बेघालाई मेयर हर्क साम्पाङ पक्षले श्रद्धाञ्जली अर्पण गरेपछि माओवादी पक्ष आक्रोशित भएको छ। सोही विषयलाई लिएर मंगलबार धरानमा दुई पक्षबीच चर्काचर्की भएको छ, र स्थिति तनावपूर्ण बनेको छ।
मूल विवाद सुरु भएको हो उपमेयर बेघाले श्रमदानको बिल उपभोक्ता समिति बनाएर मात्र बुझाउने प्रस्ताव अघि सारेपछि। तर, प्रस्ताव लगत्तै मेयर हर्क साम्पाङ पक्षले सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोस्ट गर्दै बेघालाई भ्रष्टाचारविरुद्धको 'शक्ति'का रूपमा प्रस्तुत गरे।
श्रद्धाञ्जली लेखिएको पोस्टलाई माओवादी पक्षले प्रहारको रूपमा लिएको छ। "बाँचिरहेकी व्यक्तिलाई श्रद्धाञ्जली दिनु केको संकेत हो?" भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित भएका छन्। मंगलबार दुबै पक्ष बीच टोलटोलमा नारावाजी, वादविवाद र भिडन्तको स्थिति समेत बनेको थियो। स्थानीय प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै प्रहरी परिचालन गरेको छ।
स्थानीय राजनीतिक विश्लेषकहरू भन्छन् – "यो घटना सत्ताको शक्ति सन्तुलनभन्दा बढी सामाजिक सञ्जालमा को 'पावरफुल' देखिन्छ भन्ने प्रतिस्पर्धा भएको हो।"
धरानको राजनीति फेरि एकपटक सामाजिक सञ्जालमै तातिरहेको छ। मेयर हर्क साम्पाङले जनताको पक्षमा उभिने भन्दै आलोचकहरूमाथि खुलेर प्रहार गर्ने शैली अख्तियार गर्दै आइरहेका छन् भने माओवादीहरू यसलाई ‘असहिष्णुता’को संज्ञा दिँदैछन्।
अब के हुन्छ?
स्थानीय स्तरमा राजनीतिक ध्रुवीकरण अझै चर्किने संकेत देखिएको छ। मंगलबारको तनावपछि दुवै पक्ष संयमित हुन सार्वजनिक रूपमा भनेका छन्, तर वास्तविकता भने सामाजिक सञ्जाल र सडकमा फरक देखिन्छ।
प्रतिकृया दिनुहोस