काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा सिप मेला सुरु गरेको छ । मेलामा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ ।
वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका क्षेत्र तालिममा समावेश छन् ।
उनले ४ दिन सम्म चल्ने आधारभूत प्रशिक्षणले उद्यम गर्न चाहने स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिइएको बताए ।
प्रशिक्षणमा विपद व्यवस्थापन क्षेत्रमा खोज उद्धार, एक वडा एक नमूना उद्यम कार्यक्रम क्षेत्रमा लाखामरी बनाउने तालिम हुनेछ । आयसँग र आफूले गर्नु पर्ने खर्च घटाउने क्षेत्रमा सेल्फ मेक अप तालिम राखिएको छ । यसमा प्रशिक्षण लिनेले व्यवसाय गरेनन् भने पनि आफूले पार्लरमा गर्नुपर्ने खर्च घटाउन सकिन्छ ।
प्रशिक्षणमा डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, वेकरी बनाउने तालिम चल्नेछ । तालिम हरेक दिन बिहान ११ बजे सुरु भएर अपरान्ह ३ बजे सकिनेछ । हरेक विधामा २५ जनासम्म प्रशिक्षार्थी राखिएको छ । यसरी करिब १५० जना प्रशिक्षित हुने अपेक्षा गरिएको छ ।
वडाले यस अघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षक रुपमा विकास गरिएको छ । यसअन्तर्गत साबुन बनाउने र जुत्ता बनाउने तालिमका प्रशिक्षक वडाबाट प्रशिक्षण पाएका व्यक्ति छन् । लाखामरी बनाउन परम्परागत सिप भएका प्रशिक्षक चयन गरिएको छ । अन्य प्रशिक्षणका लागि प्रशिक्षण केन्द्रहरुसँग सहकार्य गरिएको छ ।
प्रतिकृया दिनुहोस