• बिहीबार-असार-५-२०८२

'मितेरी सहकारी' ठगी प्रकरणका मुख्य योजनाकार ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्रेर ल्याइयो

दुई फरक राहदानी, कीर्ते नागरिकता प्रयोग, १४ करोडभन्दा बढी ठगी

काठमाडौं, असार ५ गते । करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा इन्टरपोल रेड नोटिसमार्फत फरार घोषित 'मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड' ठगी प्रकरणका मुख्य योजनाकार ज्योति बहादुर भण्डारीलाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरी काठमाडौं ल्याएको छ ।

 

भण्डारीलाई सन् २०२४ अक्टोबर २९ (२०८१ साल कात्तिक १३) मा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । लामो समयदेखि विदेशमा लुकीछिपी बस्दै आएका उनलाई हाल कम्बोडियाबाट पक्राउ गरिएर मिति २०८२ असार ४ गते नेपाल ल्याइएको हो ।

 

नेपाल ल्याइएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी) र दफा २७६ (कीर्ते) अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

सहकारी मार्फत १४ करोडभन्दा बढी ठगी


काठमाडौंस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना बचतकर्ता र सञ्चालकहरूको संयुक्त लगानीमा संकलित १४ करोड रुपैयाँभन्दा बढी रकम अपचलन तथा ठगी गरिएको अनुसन्धानबाट खुलेको छ ।

 

यस प्रकरणमा सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ र थाइल्याण्डमा बस्दै आएका ज्योति बहादुर भण्डारीको संयुक्त संलग्नता पुष्टि भएको छ । महाप्रबन्धक गुरुङले भण्डारीसँग सहकार्य गरी रकम अपचलन गरेका थिए ।

 

WhatsApp मार्फत विश्वासमा पारेर ठगी

अनुसन्धान अनुसार, भण्डारीले WhatsApp प्रयोग गरी सहकारी सञ्चालकहरूलाई आफूले थाइल्याण्डबाट रु. ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरेर पठाएको भन्दै Global IME बैंक इन्द्रचोक शाखामा जम्मा गरिएको टोकनको फोटो समेत पठाएका थिए ।


यस आधारमा सहकारी सञ्चालकहरूलाई विश्वास दिलाई उनले ‘पार्सल खोलेर रकम पाउन कमिसन बुझाउनु पर्छ’ भन्दै रु. ३ करोड ४४ लाख ७४ हजार ३२० थप ठगी गरेका थिए ।

दुई फरक राहदानी, कीर्ते नागरिकता प्रयोग


ज्योति बहादुर भण्डारीको नाममा दुई फरक राहदानी र तिनमा फरक नागरिकता नम्बर उल्लेख भएको पनि अनुसन्धानले पुष्टि गरेको छ ।

राहदानी नं. १०५४८६८८ – नागरिकता नं. १५८८३, जन्मस्थान: कास्की

राहदानी नं. ११३६४६९१ – नागरिकता नं. १४८०३, जन्मस्थान: बर्दिया

यसबाट उनले कीर्ते नागरिकता तथा राहदानी प्रयोग गरी विभिन्न देशमा स्क्याम तथा ठगी कारोबार गर्दै आएको प्रष्ट भएको छ । साथै उनले विभिन्न काल्पनिक नाम र व्यक्तिहरूको पहिचान बनाएर फेसबुक र WhatsApp मार्फत ठगी गर्दै आएको प्रमाणित भएको छ ।

अन्य ३ ठगी मुद्दामा पनि फरार


सीआईबीका अनुसार, भण्डारीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विभिन्न मितिमा दर्ता गरिएका ३ वटा ठगीसम्बन्धी मुद्दामा समेत उनी फरार रहेका थिए । यसरी लामो समयसम्म फरार रहेका एकजना कुख्यात ठगी अभियुक्तलाई समात्न नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा लामो अनुसन्धानपछि सफलता हात पारेको हो ।

पीडितलाई सम्पर्क राख्न अनुरोध


प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिहरू पनि ठगीमा परेको आशंका गर्दै भण्डारीबाट ठगिएका सबै पीडितहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा सम्पर्क राख्न आग्रह गरेको छ ।

सीआईबी स्रोतका अनुसार, यो ठगी प्रकरण नेपालको सहकारी क्षेत्रमै सबैभन्दा ठूलो प्रकरणहरूमध्ये एक हो, र यसमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ ।

प्रतिकृया दिनुहोस