काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए ।
यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे ।
त्यस्तै टी : २० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाए । कप्तान रोहित पौडेल ७ बलको सामना गर्दै ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा लोकेश बमले १२ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।
नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक-एक विकेट लिए ।
यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ ।
प्रतिकृया दिनुहोस