नवलपरासी (पूर्व), असार ६ । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित बिनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने बिनयी खोलामा एक्कासी पानीको बहाव बढ्दा यात्रुबाहक बस फसेको छ। काठमाडौँबाट दाङ जाँदै गरेको उक्त बस डाइभर्सनको बीच भागमै फसेपछि जोखिमपूर्ण अवस्थाबाट ३८ यात्रुहरूको सफलतापूर्वक उद्दार गरिएको छ।
उक्त घटना आज मिति २०८२ साल असार ६ गते बिहानतिर भएको हो। बिनयी खोलामा आएको आकस्मिक बाढीले डाइभर्सन माथिबाट पानी बगाउँदा सडक दुईतर्फी रूपमा पूर्ण अवरुद्ध बनेको थियो। सोही क्रममा यात्रुबाहक बस डाइभर्सनको बीचमै फसेको स्थानीयले जनाएका छन्।
घटनापछि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको संयुक्त प्रयासमा बसमा सवार सबै यात्रुहरूलाई सुरक्षित रूपमा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय प्रशासनले बाढीको सम्भावना रहने ठाउँहरूमा सावधानी अपनाउन अनुरोध गरेको छ। डाइभर्सन प्रयोग गर्दा मौसम र पानीको बहावको स्थितिबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस