काठमाडौं । घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ ।
खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही थालिएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी प्रमुख लेनदेनमा मुछिएको घटनालाई गम्भीर मान्दै छानबिन समिति गठन गरेको उक्त कार्यालयले जनाएको छ ।
‘छानबिन समिति बनेको छ, तीन सदस्यीय समितिले रिपोर्ट दिएपछि के कस्तो कारबाही गर्नेबारे टुंगो लाग्छ,’ मधेस प्रहरी कार्यालय स्रोतले भन्यो । खतिवडामाथि एक युट्युब च्यानलमा विभिन्न मुद्दामा लाखौं असुली गर्ने गरेको, सर्वसाधारणलाई दु:ख दिएर असुल्ने गरेको तथा त्यस कार्यमा सई त्रिपाठीलाई खटाएको आरोप लागेको थियो ।
युट्युबको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । त्यस कार्यमा खतिवडाको के कस्तो मिलेमतो भन्ने यकिन भइसकेको छैन ।
प्रतिकृया दिनुहोस