२०८२ असार १३ गते, काठमाडाैं । अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति गराउँदै गएको छ । असार ११ गते बुधबार रातिदेखि परेको लगातारको वर्षाका कारण नुवाकोट र डोल्पामा बाढी र पहिरोको असरले ठूलो क्षति पुर्याएको छ ।
नुवाकोटमा खोलामा बाढी, एक महिला बेपत्ता
नुवाकोट जिल्ला ककनी गाउँपालिका–१, भसीबुस्थित बिमचना खोलामा आएको आकस्मिक बाढीले स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छिन् ।
रातिदेखिको अविरल वर्षाका कारण खोलामा पानीको बहाव एक्कासि बढेपछि उनी बगाएर बेपत्ता भएको पुष्टि गरिएको छ ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट खटिएको ६५ जना सुरक्षाकर्मीको टोली अहिले उद्धार तथा खोजीकार्यमा संलग्न रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा खोलाले बगाएका तीनवटा गोठ क्षतिग्रस्त भएका छन् । गोठमा रहेका मानिसमध्ये अशोक बलामी घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
बाढीले स्थानीयको पशुचौपाया र दैनिक प्रयोगका सामग्री समेत बगाएको बताइएको छ । खोजी कार्यमा कठिनाइ भए पनि उद्दार टोली सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ ।
डोल्पामा पहिरो, १५ घर पूर्ण क्षति
त्यस्तै डोल्पा जिल्लाको काईके गाउँपालिका–४ रिवामा बुधबार राति गएको पहिरोले १५ घरधुरीमा ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै गएको पहिरोले घर पुर्नुका साथै खेतबारी समेत क्षति पुर्याएको छ ।
उक्त क्षेत्रका १५ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र अन्य केही घरमा आंशिक क्षति पुगेको सशस्त्र प्रहरी बल डोल्पा गुल्मले जनाएको छ । पहिरोमा परेर ३ जना स्थानीयवासी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालित गरिएको छ । पहिरोबाट विस्थापित भएका परिवारलाई अस्थायी बसोबासका लागि सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको स्रोतले जानकारी दिएको छ ।
बढ्दो प्राकृतिक प्रकोपप्रति चिन्ता
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका घटना बढिरहेका छन् । जलवायु परिवर्तन र वनक्षेत्रको अतिक्रमण जस्ता कारणले बर्सेनि यस्ता घटनामा वृद्धि भइरहेको भन्दै विज्ञहरुले पूर्वतयारी र सतर्कता अपनाउन सुझाव दिएका छन् ।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा रेडक्रस लगायतका संस्थाहरू अहिले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा संलग्न छन् ।
सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न दीर्घकालीन योजना आवश्यक भएको भन्दै प्रभावित क्षेत्रको तत्काल पुनःस्थापना र राहतको सुनिश्चितताका लागि पहल थाल्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिकृया दिनुहोस