• बिहीबार-असार-१९-२०८२

मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी पुलबारे पूर्वाधार विकास समितिमा छलफल


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बुधबारको बैठकले मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड र भेरी नदीमा निर्माणाधीन पुलको अवस्था र प्रगतिको विषयमा गम्भीर छलफल गरेको छ ।


बैठकमा बोल्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जाजरकोट खण्डमा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । उनले त्यो रुटमा धेरै काम भैसकेको भनिए पनि १० दिनभित्र सम्पन्न हुन्छ भन्ने कुरा केवल कल्पना मात्रै भएको बताए ।


‘त्यो रुटमा धेरै काम भैसकेको भनिए पनि १० दिनभित्र सम्पन्न हुन्छ भन्ने कुरा केवल कल्पना मात्रै हो,’ उनले भने, ‘एउटा मेसिन चलिरहेको छ, एउटा रिपोर्टिङ हामीलाई आउँछ, अर्को मन्त्रालयमा जान्छ, तर काम गर्ने तरिका भने सबैले देखेकै छन् ।’


उनले निर्माण व्यवसायीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै छोटो समयमा काम सम्पन्न हुनु असम्भव रहेको बताए । ज्वालाले यसबारेमा अब गम्भीर रूपमा सोच्नुपर्ने भन्दै विस्तृत छलफल र आवश्यक परे ‘अपरेशन’ नै गर्नुपर्ने सुझावसमेत दिए । उनले भने, ‘अब मिटिङ राखेर ठेकेदार, विज्ञ र सरोकारवाला सबैलाई समेटेर जाजरकोट खण्डको अवस्था स्पष्ट पार्नुपर्छ ।’


बैठकमा अन्य सांसदहरूले पनि समयमै निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीमाथि दबाव दिनुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस