भैरहवा, असार २० – जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाइहरूले २०८२ असार १९ र २० गते जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकजाँचका क्रममा करिब ४ लाख ६५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएका छन् । बरामद सामानहरू भन्सार छली चोरी पैठारी गरी ल्याइएको पुष्टि भएपछि आवश्यक कानूनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय, बेलहिया बुझाइएको प्रहरीले जनाएको छ।
पाँच फरक स्थानबाट बरामद
१. रोहिणी र झण्डीबजार क्षेत्रबाट मोटरसाइकलसहित कुखुरा नियन्त्रण
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–४ पनेनी र सिद्धार्थनगर नगरपालिका–१ झण्डीबजार क्षेत्रबाट लु ५ प २५४२ र लु ५२ प ५०८६ नम्बरका मोटरसाइकलसहित ६४ वटा बोइलर कुखुरा (१६० किलो) बरामद गरेको छ।
बरामद सामानको मूल्य १,५७,४८० रुपैयाँ बराबर छ। घटनासँग सम्बन्धित भारत उत्तर प्रदेश घर भई हाल रुपन्देहीको सिद्धार्थनगर–६ मा बसोबास गर्ने शिवशंकर बनिया र रघुनाथ पासवान नामका दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
२. सियारी गाउँपालिकाबाट चिनी बरामद
इलाका प्रहरी कार्यालय बेथरीले सियारी गाउँपालिका–२ च्याङठाबाट लु ३७ प ३१८२ नम्बरको मोटरसाइकलमा बोकेको ४ बोरा चिनी बेवारिसे अवस्थामा फेला पारेको छ। मोटरसाइकलसहित बरामद चिनीको मूल्य ५४,८०० रुपैयाँ बराबर रहेको छ।
३. बुद्धचोकबाट महिलाको कपडा बरामद
वडा प्रहरी कार्यालय भैरहवाले सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकबाट ८६ थान लेडिज सुट बरामद गरेको छ। कपडाको मूल्य ७७,४०० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
४. तिर्लोकपुरबाट खाद्यान्न र बाल्टिन बरामद
इलाका प्रहरी कार्यालय मझगाँवाको टोलीले कोटहीमाई गाउँपालिका–३ तिर्लोकपुरबाट लु ४८ प ५०२४ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको ६ वटा बाल्टिन र १२० किलो खाद्य सामग्री बरामद गरेको छ। सामान र मोटरसाइकलको मूल्य ८८,००० रुपैयाँ बराबर छ।
५. सेमराहवाबाट कुखुरा र मोटरसाइकल नियन्त्रण
प्रहरी चौकी पिपरहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–५ सेमराहवाबाट UP 56 F 4098 नम्बरको भारतीय मोटरसाइकलमा राखेर नेपाल ल्याइँदै गरेका २० वटा जीवित बोइलर कुखुरा (४० किलो) नियन्त्रणमा लिएको छ। कुखुरा र मोटरसाइकलको संयुक्त मूल्य पनि ८८,००० रुपैयाँ बराबर रहेको छ।
कारबाही प्रक्रिया
सवै अबैध रुपमा ल्याइएका सामानहरूलाई आवश्यक कानूनी प्रक्रिया अनुसार भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय, बेलहिया बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार, सीमा क्षेत्रमा चोरी पैठारी रोक्न चेकजाँचलाई अझ कडाइका साथ अघि बढाइनेछ। यस प्रकारका अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिइएको छ।
प्रतिकृया दिनुहोस