• शनिबार-असार-२१-२०८२

सुदूर युवा ईको समिट सम्पन्न, नौ बुँदे 'टीकापुर घोषणा पत्र' जारी

 

टीकापुर, कैलाली । जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न युवा नेतृत्वलाई अग्रपंक्तिमा उभ्याउने उद्देश्यका साथ आयोजित ‘सुदूर युवा ईको समिट’ नौ बुँदे ‘टीकापुर घोषणा पत्र’ जारी गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

फोर एच नेपालको आयोजनामा सम्पन्न उक्त समिटमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट १५० भन्दा बढी युवाको सक्रिय सहभागिता रहेको थियो। सहभागी बसन्त बोहराका अनुसार, समिटले सुदूरपश्चिम क्षेत्रमा जलवायु संकटको गहिरो प्रभाव र त्यसविरुद्ध युवाको भूमिकालाई केन्द्रीकरण गरेको थियो।

🔹 घोषणा पत्रका मुख्य माग


टीकापुरमा जारी गरिएको नौ बुँदे घोषणा पत्र र पाँच बुँदे प्रतिबद्धता पत्रमा समावेश गरिएका प्रमुख बुँदाहरू निम्न छन्:

स्थानीय भाषामा जलवायु शिक्षा र सचेतना:


सुदूरपश्चिम सरकारले ‘जलवायुकी कुरेणी’ जस्ता सचेतनामूलक कार्यक्रमहरू स्थानीय भाषामा सञ्चालन गर्नुपर्ने।

जलवायुमैत्री नीति निर्माण:


प्रदेशका सबै ८८ स्थानीय तह र सुदूरपश्चिम सरकारद्वारा जलवायुमैत्री नीतिको निर्माण अनिवार्य गरिनुपर्ने।

जलवायु संवादमा युवाको नेतृत्व:


युवाहरूको अगुवाइमा जलवायु संवाद सञ्चालन गरी नीति निर्माण प्रक्रियामा समावेश गरिनुपर्ने।

जलवायु न्याय सुनिश्चितता:


जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित बालबालिका र युवालाई विशेष ध्यान दिँदै जलवायु न्याय दिनुपर्ने।

रैथाने कृषि प्रवर्द्धन:


व्यावसायिक कृषिका नाममा हराउँदै गएका मौलिक कृषि प्रणालीको संरक्षण गर्दै स्मार्ट प्रविधिको प्रयोगसहित व्यवसायिकिकरण गर्नु पर्ने।

नेपाली परम्परागत खाना तथा खाद्य प्रणालीको संरक्षण:
मौलिक स्वाद र स्वास्थ्यको जगेर्ना गर्दै व्यवसायिक सम्भावनामा जोड दिनुपर्ने।

🔹 युवाको प्रतिबद्धता


घोषणा पत्रसँगै जारी गरिएको ५ बुंदे प्रतिबद्धता पत्रमा सहभागी युवाहरूले:

जलवायुप्रति सचेत र जिम्मेवार बन्ने,

पर्यावरण हानी नहुने कार्य नगर्ने,

स्थानीय तह र समुदायसँग मिलेर जलवायुमैत्री नीति निर्माणमा पैरवी गर्ने,

रैथाने कृषि प्रवर्द्धनमा पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

🔹 उद्घाटन र कार्यपत्र


समिटको उद्घाटन फोर एच नेपालका अध्यक्ष विष्णु प्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एशिया फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थी, विशिष्ट अतिथि सुदूरपश्चिम सरकारका राजनीतिक सल्लाहकार जितु उपाध्याय, तथा फोर एच नेपालका केन्द्रीय सदस्य सनत कुमार रेग्मीलगायतको सहभागिता थियो।

🔹 समिटका विविध गतिविधि


समिटमा “नेपालमा कृषि र जलवायुको सम्बन्ध”, “जलवायु परिवर्तन र युवाको भूमिका” लगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै युवा कचहरी, संस्कृतिक कार्यक्रम, तथा स्थानीय कला–संस्कृति प्रदर्शन जस्ता कार्यक्रम पनि सम्पन्न भएका थिए।

🔹 घोषणा पत्र हस्तान्तरणको तयारी


फोर एच नेपालका केन्द्रीय सदस्य सनत कुमार रेग्मीका अनुसार, "टीकापुर घोषणा पत्र" सुदूरपश्चिमका ८८ पालिकालाई बुझाउने र प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायमा औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

सुदूर युवा ईको समिटले जलवायु परिवर्तनजस्ता जटिल विषयमा युवाको नेतृत्व र आवाजलाई नीतिगत स्तरसम्म पुर्‍याउने प्रयास मात्र होइन, एक उदाहरणीय अभ्यासका रूपमा युवा सशक्तिकरणको मार्ग प्रशस्त गरेको छ।


 

प्रतिकृया दिनुहोस