गलकोट (बागलुङ), २१ असार : आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो ।
पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।
जैमिनी नगरपालिका–९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारीसधान तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।
अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछि पुलबाट सवारीसाधन सञ्चालन गर्न÷गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर गोविन्दप्रसाद चौधरीले बताउनुभयो । उहाँले वर्षामा सवारीसधान नोरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उहाँको भनाइ छ ।
“यो वर्षामा सवारीसाधन गुड्न थालिसकेका छन्, सामान्य काम बाँकी भएपनि खोला बढेकाले सवारीसधान सञ्चालन थालिएको हो । कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विसं २०६५ मा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी–९ पयैुँ र १० राङ्खानीसँगै सिङ्गो बरेङ गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता थियो”, चौधरीले भन्नुभयो । यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी–९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उहाँको भनाइ छ ।
सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो । कुल रु आठ करोड एक लाख ५९ हजार ६०८ लागत अनुमान रहेकामा निर्माण कम्पनीले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माणको जिम्मा लिएको थियो ।
इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताउनुभयो । उहाँले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गर्नुभयो । “आफूले जिम्मा लिएको काम बेलैमा गरौँ भनेर तिव्रता दिएका थियौँँ”, उहाँले भन्नुभयो, “कामदारको सही परिचालन र निर्माण सामग्री समयमा उपलब्ध हुँदा काममा ढिलाइ भएन ।”
पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताउनुभयो । पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारीसाधन गुडाउन समस्या नरहेको उहाँको भनाइ छ ।
रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजारौँ नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । “निर्माण व्यवसायीको चरम ढिलासुस्ती खेपिरहेको जैमिनी नगरपालिकामा सूर्योदय कन्ट्रक्सनले सम्झौता अगावै पुल निर्माण गरेको हो”, उहाँले भन्नुभयो ।
उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा–राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताउनुभयो ।
---
प्रतिकृया दिनुहोस