काठमाडौं। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ। अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त साधारणसभा प्रतिष्ठानका पूर्वअध्यक्ष एवं संस्थापक राजेन्द्र बजगाईंको अध्यक्षता र बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा नारायण थापा निर्विरोध निर्वाचित भएका छन्। बरिष्ठ उपाध्यक्षमा दीपक शर्मा र उपाध्यक्षमा सुजाता केसी पनि सहमतिमा चयन भए। त्यस्तै, महासचिवमा सनम कठायत निर्विरोध निर्वाचित भए भने सचिवमा रिता केसी, महिला सचिवमा बेनिश पौडेल, कोषाध्यक्षमा प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका छन्।
सदस्यहरूमा मनोज परियार, विरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट निर्विरोध निर्वाचित भएका छन्। बाँकी दुई सदस्य भने नयाँ कार्यसमितिबाट मनोनयन गरिने प्रतिष्ठानले जनाएको छ।
साधारणसभामा प्रतिष्ठानका संस्थापक सल्लाहकार राजु सिंह, डा. टिका भण्डारी, माधवराज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुइँटेल लगायतको उपस्थिति रहेको थियो।
नव निर्वाचित अध्यक्ष नारायण थापाले कार्यक्रमलाई सम्बोधन गर्दै गीत–संगीत क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरूको नियन्त्रणमा प्रतिष्ठान गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए। उनले श्रष्टाहरूको सिर्जनात्मक ऊर्जा संरक्षण र प्रवर्द्धनमा संस्था सक्रिय रहने पनि बताए।
महासचिव सनम कठायतले पछिल्लो समय श्रष्टा तथा कलाकारहरूमा बढ्दो नैराश्यतालाई सम्बोधन गर्न रचनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उनले श्रष्टाहरूको स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा कार्यक्रम, मानसिक स्वास्थ्य सहयोग र सामूहिक सहकार्यमा आधारित गतिविधिहरू अघि बढाइने जानकारी दिए।
प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईंले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संस्थाले अझ प्रभावकारी, समावेशी र श्रष्टामुखी काम गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे। नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भई कार्य गर्ने अठोट दोहोर्याएका थिए।
साधारणसभाले आगामी वर्षहरूमा प्रतिष्ठानलाई राष्ट्रिय स्तरमा सिर्जनशीलता, समर्पण र सकारात्मक प्रभाव विस्तार गर्ने संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस