• मंगलबार-असार-२४-२०८२

पामिर इन्टरनेशनलद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान

‘जिपिए मात्रै होइन, ज्ञान नै मुख्य हो’ : प्राचार्य गौतम

 

तिलोत्तमा, २३ असार। पामिर इन्टरनेशनल एकेडेमी, तिलोत्तमा–२ जानकीनगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई एक विशेष समारोहबीच सम्मान गरेको छ।

विद्यालयले एसइई परीक्षामा ३.९३ जिपिए ल्याउन सफल उषा अधिकारी सहित २५ जना विद्यार्थी, तिनका अभिभावक र शिक्षक–शिक्षिकाहरुलाई सम्मानित गरेको हो।

नगदसहित विशेष सम्मान


विद्यालयले ए प्लस (A+) ल्याएका नौ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ भने अन्य विद्यार्थीहरुलाई अविर, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।


त्यस्तै, नेपाली विषयमा ए प्लस ल्याउने चार विद्यार्थी- उषा अधिकारी, इशान ज्ञवाली, इश्मा दर्लामी र आविष्कार नेपालीलाई विद्यालयका नेपाली शिक्षक केशव खनालले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे।

शिक्षक र विद्यालय परिवारको योगदानको कदर


कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल गौतम, शिक्षकहरू अमित राना, विनोद रणपाल, गोपाल ज्ञवाली, सम्झना श्रेष्ठ, अर्जुनप्रसाद पन्त लगायतलाई समेत विशेष सम्मान गरिएको थियो।

शिक्षा क्षेत्रमा २ नम्बर वडाको पहिचान


समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले भने, “पामिरको नतिजाले सम्पूर्ण तिलोत्तमालाई गौरवान्वित बनाएको छ। अहिले २ नम्बर वडा शैक्षिक प्रगतिको केन्द्र बन्दै गएको छ।” उनले उत्तीर्ण सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।

व्यवस्थापन समितिको प्रशंसा


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले पामिरले विगत वर्षभन्दा अझ राम्रो नतिजा ल्याउन सफल भएको जनाउँदै भने, “पढाइसँगै व्यवहारिक र प्रविधिमैत्री शिक्षण पद्धति पामिरको विशेषता हो।”

‘जिपिए मात्रै होइन, ज्ञान नै मुख्य हो’ : प्राचार्य गौतम


कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए मात्र ठूलो कुरा नभई विद्यार्थीले प्राप्त गरेको गुणस्तरीय ज्ञान र जीवनोपयोगी शिक्षा नै विद्यालयको सफलता भएको बताए। उनले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी र अभिभावकलाई बधाई दिंदै आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

विद्यार्थी र अभिभावकको प्रतिक्रिया


कार्यक्रममा शिक्षा समितिका संयोजक वसन्त जोशी, अभिभावक प्रतिनिधि रामबहादुर खड्का, शिक्षक केशव खनाल र सम्मानित विद्यार्थी उषा अधिकारीले आ–आफ्नो धारणा राख्दै पामिरले दिएको शिक्षण वातावरण, शिक्षकहरूको मेहनत, र परिवारको साथ नै सफलताको आधार भएको बताए।

यो कार्यक्रमले पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीको मनोबल बढाउने मात्र होइन, शिक्षा क्षेत्रमै प्रेरणा दिने काम गरेको सहभागीहरूले बताएका छन्। पामिर इन्टरनेशनल एकेडेमीको निरन्तर प्रगति र नवीनतम शिक्षण पद्धतिले तिलोत्तमाको शैक्षिक पहिचानलाई अझ सबल बनाएको अनुभूति गरिएको छ।

प्रतिकृया दिनुहोस