काठमाडौं । नेपालको डिजिटल रूपान्तरण र सूचना प्रविधि (आईटी) उद्योगको दीर्घकालीन समृद्धिका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समिति बीच रणनीतिक साझेदारीको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
यो सहकार्यको परिकल्पना क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसीटी नीति समितिका अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा गरिएको हो। समझदारीमा एनसीसी अध्यक्ष कमलेश कुमार अग्रवाल र क्यान महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेको विशेष उपस्थितिसमक्ष हस्ताक्षर सम्पन्न भएको हो।
सहकार्यका पाँच प्रमुख उद्देश्य
यो सहकार्यले नेपालको आईटी उद्योगलाई समृद्ध, समावेशी र दीर्घकालीनरूपमा सक्षम बनाउने पाँच प्रमुख रणनीतिक लक्ष्यहरू लिएको छ:
नीति वकालत
सरकारसमक्ष संयुक्त सिफारिसमार्फत डिजिटल रूपान्तरणमैत्री नीति निर्माणमा सहयोग गर्ने।
लगानी प्रवर्द्धन
स्वदेशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्दै नेपाललाई दक्ष आईटी गन्तव्य बनाउने।
नेटवर्किङ र कार्यक्रम
हरेक ६ महिनामा स्टार्टअप, पेशेवर र उद्यमीलाई जोड्ने साझा फोरमहरूको आयोजना।
ब्रान्ड सहकार्य
प्राविधिक प्रदर्शनी र सम्मेलनहरूमा एकअर्काको लोगो र सन्देश साझा गर्दै आपसी दृश्यता वृद्धि।
सदस्य संलग्नता
आईटी पेशेवर र संस्थाहरूलाई दुवै संस्थामा संलग्न हुन उत्प्रेरित गर्दै स्रोत र पहुँच सुलभ गराउने।
कार्यान्वयन संयन्त्र
यस समझदारी अन्तर्गत दुबै संस्थाले आ–आफ्नो फोकल संयोजक तोक्नेछन्, जसले सहकार्यका गतिविधिहरूको योजना, कार्यान्वयन र अनुगमनमा संयोजन गर्नेछन्। त्रैमासिक प्रगति समीक्षा बैठकमार्फत सहकार्यको मूल्याङ्कन र आगामी योजना तय गरिनेछ।
तीन वर्षे अवधि, विस्तारको सम्भावना
समझदारी तीन वर्षका लागि प्रभावकारी हुनेछ भने आवश्यकताअनुसार आपसी सहमतिमा यसलाई विस्तार गर्न सकिनेछ।
एनसीसी आईटी समितितर्फबाट: विज्ञान श्रेष्ठ, अध्यक्ष
डिजिटल नेपालतर्फको सामूहिक यात्रा
यो सहकार्य नेपाललाई दक्षिण एशियाको आईटी नवप्रवर्तन केन्द्रको रूपमा स्थापित गर्ने सम्भावनालाई मूर्त रूप दिने विश्वास गरिएको छ। साझा दृष्टिकोण, स्रोत र संस्थागत संलग्नताको माध्यमबाट नेपालको आईटी क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई पुनःपरिभाषित गर्ने अवसर प्राप्त गरेको छ।
क्यान महासंघका चिरञ्जीवी अधिकारीको दूरदृष्टि र विज्ञान श्रेष्ठको सहकार्यमा सुरु भएको यो पहल नेपाली आईटी उद्योगको युगान्तकारी मोड बन्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस