• शनिबार-असार-२८-२०८२

न्यायाधीशलाई मोसो दल्ने घटनाका अभियन्ताहरुलाई नेकपा (बहुमत)को सम्मान 

अदालतमै मोसो: प्रतिवादको नयाँ शैली ? भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकार....

 
काठमाडौं, २०८२ असार २८ गते । नेकपा (बहुमत)ले अफ्ताव आलमलाई उन्मुक्ति दिने फैसला गर्ने न्यायाधीशहरूलाई मोसो दलेका आफ्ना नेताहरूलाई सार्वजनिक रूपमा अभिनन्दन गरेको छ। २०८२ असार २८ गते  शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले कालोमोसो अभियानमा संलग्न नेताहरूलाई ‘जनन्यायको पक्षमा हिक्मत गर्ने योद्धा’ भन्दै सम्मान गरेको हो।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब, निमुखा र पीडित जनताको पक्षमा जोखिम मोलेर आवाज उठाउने नेताहरूलाई बधाई तथा धन्यवाद दिँदै भने, “राज्यका तीनै अंगहरू भ्रष्टाचारको चरमचुलीमा पुगेका बेला हामीले जनन्यायको पक्षमा अभियान सुरू गरेका हौँ। जहाँ जनतामाथि अन्याय हुन्छ, त्यहाँ नेकपा (बहुमत) उपस्थित हुन्छ।”

“जनताको न्यायका लागि मोसो, अब अपराधीमाथि अझै कडा कारबाही हुनेछ” मोसो अभियानमा सहभागी केन्द्रीय सदस्य अभिनाश कुँवर ले २४ दिनको प्रहरी हिरासत र ४ दिनको कारागार जीवनबाट थप उत्साह र प्रतिबद्धता हासिल गरेको बताए। “हाम्रो बन्द पर्खालको बसाइ उत्साहप्रद रह्यो,” उनले भने, “जनताको लागि कालोमोसो मात्र हैन, आवश्यकता परे त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं।”

साथै अर्का अभियन्ता तथा पार्टी केन्द्रीय सदस्य पदम मगर ले देशमा अन्याय र अत्याचारको सीमा नाघेको आरोप लगाउँदै, “न्यायको नाममा अन्याय हुन्छ भने हामी प्रतिवादमा उत्रिन बाध्य हुन्छौं। डराउने होइन, अझै संगठित ढंगले प्रतिरोध गर्छौं,” भन्ने दृढता व्यक्त गरे।

अदालतमै मोसो: प्रतिवादको नयाँ शैली ?
जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै न्यायाधीश खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो दलेको घटनाले मुलुकभर बहसको विषय बन्यो। कालोमोसो दलेका अभियन्ता -अभिनाश कुँवर, पदम मगर र गर्भू महतो -सबै नेकपा (बहुमत)सँग आबद्ध छन्। उनीहरूले अदालतमा नै न्यायाधीशमाथि आक्रोश प्रकट गर्दै न्यायिक निर्णयको सार्वजनिक विरोध गरेपछि पक्राउ परेका थिए।

यही कदमलाई नेकपा (बहुमत)ले 'जनन्यायका पक्षमा उठाइएको क्रान्तिकारी हिक्मत' भन्दै समर्थन मात्र गरेन, अब औपचारिक रूपमा सम्मान पनि गर्न थालेको हो।

“संसदवादी पार्टीहरूको भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकार”


२ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेर ले कालोमोसो घटनामा संलग्न नेता–कार्यकर्ताहरूलाई ‘जनताको पक्षमा बोल्न डर नमान्ने योद्धा’ को संज्ञा दिँदै अभिनन्दन गरे। गजमेरले भने, “संसदवादी पार्टी र उनीहरूको भ्रष्टाचार, बेथिति र अत्याचारविरुद्ध हाम्रो प्रतिकार जारी रहनेछ। समाजवादी व्यवस्था नै हाम्रो अन्तिम लक्ष्य हो।”

पार्टीको स्पष्ट चेतावनीः “जहाँ अन्याय हुन्छ, त्यहाँ हामी छौं”


कार्यक्रममा उपस्थित पार्टी स्थायी समिति सदस्य डिडी पाण्डे र निर्मल, चितवन जिल्ला इन्चार्ज पूर्ण विक लगायत दर्जनौँ नेताहरूको उपस्थिति थियो। सञ्चालनकर्ता पूर्ण विकले पार्टीको अभियान ‘जनन्याय स्थापना र भ्रष्ट न्यायालयको पर्दाफास’ मा केन्द्रित भएको जनाए।

कार्यक्रमले नेकपा (बहुमत) न्यायालयप्रति गहिरो अविश्वास राख्दै अब न्याय प्राप्तिको लागि ‘जनकारबाही’लाई पनि वैध ठान्न थालेको देखिन्छ।

सन्देश स्पष्ट छ-अदालतमाथिको अविश्वास अब केवल वक्तव्यमै सीमित छैन, प्रतिरोधका क्रियाकलाप हुँदै ‘जनन्याय’को नाममा खुला कार्यान्वयनमा पनि उत्रिएको छ। यसले देशको न्याय प्रणाली, विधिको शासन र गणतान्त्रिक मूल्यमा गम्भीर चुनौती खडा गरेको विश्लेषकहरू बताउँछन्।


 

प्रतिकृया दिनुहोस