• शनिबार-असार-२८-२०८२

अबुधाबीमा नेपाल–यूएई व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रियात्मक कार्यक्रम

अबुधाबी, जुलाई १२ ।  नेपाल सरकारको प्राथमिकतामा रहेको आर्थिक कूटनीति नीतिलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित अबुधाबीस्थित नेपाली राजदूतावासले जुलाई ११ तारिखका दिन एक विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।

राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा यूएईमा लामो समयदेखि पेशा, व्यापार, व्यवसाय, लगानी तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा सक्रिय करिब १०० जना नेपाली व्यवसायीहरू सहभागी थिए।

राजदूत क्षेत्रीको आह्वान : “नेपालको समृद्धिमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ” । कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल–यूएई सम्बन्धको प्रगाढतालाई थप सुदृढ गर्न व्यापार, लगानी र पर्यटन प्रवर्द्धन अत्यन्त जरुरी रहेको बताए।

 

उनले नेपाल सरकारले प्राथमिकतामा राखेको आर्थिक कूटनीतिको कार्यान्वयनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण कडी भएको उल्लेख गर्दै, यूएईमा क्रियाशील नेपाली व्यवसायी, पेशाकर्मी तथा लगानीकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको अनुभव, समस्या र सुझावहरू संकलन गरी त्यसको आधारमा आगामी दिनमा नीति निर्माण तथा सहकार्य अघि बढाइने जानकारी गराए।

 

राजदूत क्षेत्रीले विशेषगरी कृषि, जलस्रोत, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रहरूमा वैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै, राजदूतावास सधैं नीतिगत र कानूनी सहजीकरणको माध्यम बन्न तत्पर रहेको उल्लेख गरे।

यूएईमा नेपाली उत्पादनको सम्भावना उच्च


कार्यक्रममा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालले विशेष प्रस्तुति मार्फत नेपाल–यूएईबीचको व्यापार तथा लगानीको वर्तमान अवस्था, द्विपक्षीय सम्झौता आवश्यकताहरू, वैदेशिक लगानी प्रबर्द्धनका सम्भावना, नेपालको LDC बाट क्रमशः ग्रेजुएशन प्रक्रियाको सन्दर्भ, र आगामी रणनीतिहरूबारे विवरण प्रस्तुत गरिन्। उनले नेपालमा वैदेशिक लगानी (FDI) भित्र्याउनुपर्ने आवश्यकताबारे स्पष्ट गर्दै, आर्थिक कूटनीतिको प्रभावकारी कार्यान्वयनमा राजदूतावासका भूमिकालाई उल्लेख गरिन्।

व्यवसायीहरूको सुझाव : “नीतिगत सुधार र लगानीमैत्री वातावरणको खाँचो” । कार्यक्रममा सहभागी यूएईमा क्रियाशील नेपाली व्यवसायी तथा पेशाकर्मीहरूले व्यापारमा एकद्वार प्रणालीमा सुधार, भन्सार प्रक्रियामा सरलता, हवाई कार्गोमा सहुलियत, कृषिजन्य उत्पादनको निर्यात प्रवर्द्धन, र पर्यटन क्षेत्रमा आकर्षक प्याकेज, FAM Trip, प्रचार-प्रसार र रोड शो जस्ता विषयमा गम्भीर धारणा र सुझावहरू प्रस्तुत गरे।

त्यसैगरी अरब ट्राभलमार्ट जस्ता अन्तर्राष्ट्रिय मेलामा नेपालको उपस्थिति मजबुत बनाउन, ब्लगर, ट्राभल एजेन्सी र स्थानिय सञ्चार माध्यमहरू प्रयोग गरी प्रभावकारी प्रचार गर्नुपर्ने धारणा समेत व्यक्त गरियो। व्यवसायीहरूले युएईको विशाल बजारमा नेपाली हस्तकला, खाद्य तथा कृषि उत्पादन, जडीबुटी र पारम्परिक वस्तुको सम्भावनालाई आधार बनाएर योजनाबद्ध ढंगमा सरकारी सहजीकरण हुनुपर्ने माग गरे।

संयोजन र निष्कर्ष

कार्यक्रमको सञ्चालन प्रथम सचिव तिलबहादुर सुनारले गरेका थिए। यस कार्यक्रमले राजदूतावास र नेपाली समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्यको नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारको आर्थिक कूटनीतिको नीतिलाई आधार मानेर यस्ता प्रत्यक्ष अन्तरक्रियाले नेपाली उत्पादनको यूएई बजारमा उपस्थिति सुदृढ गर्ने, र नेपालमा विदेशी लगानी प्रवाह बढाउने सम्भावना अझै प्रष्ट भएको सहभागीहरूको मूल्याङ्कन छ।

प्रतिकृया दिनुहोस