काठमाडौं, २०८२ असार ३० गते । बैंकिङ कसुर मुद्दामा फरार रहँदै आएका भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। १ करोड ३२ लाख रुपैयाँको विगो रहेको उक्त मुद्दामा उनी लामो समयदेखि फरार थिए।
इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले असार २९ गते बाराको निजगढ नगरपालिका–१, सिंगौलस्थित गाउँबाट चौलागाईंलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालत, बबरमहलले २०८२ असार १८ गते पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोली विशेष सूचनाको आधारमा गाउँ–घरमा लुकेर बसिरहेका चौलागाईंलाई घुमफिरको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउपश्चात चौलागाईंलाई आवश्यक कानूनी कारबाहीका लागि सिमरा विमानस्थल हुँदै प्लेनमार्फत काठमाडौं ल्याई प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रतिवादीको परिचय:
नाम: भरत चौलागाईं
उमेर: अन्दाजी ४३ वर्ष
ठेगाना: जिल्ला बारा, निजगढ नगरपालिका वडा नं. ०१, सिंगौल
मुद्दाको प्रकृति: बैंकिङ कसुर
विगो रकम: १ करोड ३२ लाख रुपैयाँ
प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान अघि बढाइएको छ। बैंकिङ प्रणालीको दुरुपयोग गरी रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको र उनले लामो समयदेखि सुराकीको आधारमा ठेगाना परिवर्तन गर्दै भागीरहँदा खोजीकार्य जारी राखिएको थियो।
अदालतको आदेशमा पक्राउपश्चात अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
प्रतिकृया दिनुहोस