• शनिबार-श्रावण-३-२०८२

महाकालीको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

 

दार्चुला, साउन १ । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीच भागमा अड्किएर बसेका एक पुरुषलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नदीको प्रवाह तीव्र रहेकाले जोखिम मोलेर गरिएको उक्त उद्धार कार्यप्रति स्थानीयवासीले प्रहरीको प्रसंसा गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट खटिएको टोलीले बाँके जिल्लाको समशेरगञ्ज अमेलिया घर भइ हाल महाकाली नदीको बीचमा रहेको ढुंगामा अड्किएका ३५ वर्षीय बिक्रम के.सी. लाई उद्धार गरेको हो।

उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको नेतृत्वमा विपत् व्यवस्थापन तालिम प्राप्त विशेष टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। जोखिमपूर्ण अवस्थामा रहेका के.सी.लाई सकुशल बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। उद्धार गरिएको व्यक्तिको मानसिक अवस्था अस्थिर रहेको प्रारम्भिक बुझाइमा आएको छ।

सशस्त्र प्रहरी बलले विपत्को समयमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै देशका विभिन्न स्थानहरूमा उद्धार कार्य गर्दै आएको छ। यस प्रकारको सतर्कता र सक्रियताले सुरक्षाकर्मीप्रतिको जनविश्वासलाई अझ बलियो बनाएको स्थानीयको भनाइ छ।

 

 

प्रतिकृया दिनुहोस