• शनिबार-श्रावण-३-२०८२

छांगुर बाबाकाे अन्तर्राष्ट्रिय धर्मान्तरण र हवाला सञ्जाल : नेपाल हुँदै भारतमा आतंक सञ्जालको कडी ?

छांगुरको मनोवैज्ञानिक कूटनीति : कोडवर्डमार्फत ‘मिशन धर्मान्तरण’

काठमाडौं / लखनऊ / नयाँ दिल्ली – भारतमा धर्मान्तरणको अन्तर्राष्ट्रिय रैकेट सञ्चालन गर्दै आएको आरोप लागेका जलालुद्दीन उर्फ छांगुर बाबाको नेटवर्क भारतमै सीमित नरही नेपालसम्म विस्तार भएको गम्भीर आशंका भारतीय सुरक्षा संयन्त्रले व्यक्त गरेको छ। भारतीय जाँच निकायहरू यतिबेला छांगुरको आर्थिक, धार्मिक र सम्भावित आतंकवादी जालो भत्काउन एकपछि अर्को छापा र पक्राउ अभियानमा जुटिरहेका छन्।

दिल्लीदेखि बलरामपुरसम्मको छापामारी


भारतको प्रवर्तन निर्देशनालय (ईडी-ED)ले २०८२ साउन १ गते बिहानैदेखि उत्तर प्रदेशको बलरामपुर र महाराष्ट्रको मुम्बईस्थित छांगुरका १४ स्थानमा एकैसाथ छापा मारेको छ। छांगुरका सहयोगी नवीन, नीतू उर्फ नसरीन र मुम्बई निवासी शहजाद शेखका खातामा करोडौं रुपैँयाको संदेहास्पद लेनदेन फेला परेको ईडीले जनाएको छ।

मात्र तीन महिनामा केही खाताहरूमा ७–८ करोड रुपैयाँ लेनदेन भएको तथ्यले छांगुरको हवाला कारोबार कति शक्तिशाली थियो भन्ने देखाउँछ। मुम्बईका बांद्रा र माहिमस्थित शहजाद शेखका घरमा रेड गर्दा, उनको खातामा नवीनमार्फत दुई करोड ट्रान्सफर गरिएको देखिएको छ।

बलरामपुरस्थित छांगुरको घर मधपुरमा बिहान ५ बजेबाट सुरु भएको छापामारी दिउँसोसम्म चल्यो। ईडी(E D)ले हालसम्म छांगुरका १८ भन्दा बढी बैंक खातामा जम्मा ६८–७० करोड भारतीय रुपैयाँको कारोबार देखिएको उल्लेख गरेको छ।

छांगुरको मनोवैज्ञानिक कूटनीति : कोडवर्डमार्फत ‘मिशन धर्मान्तरण’
उत्तर प्रदेश एटीएस र एसटीएफले छांगुरले ‘धर्मान्तरण’लाई कोडवर्ड प्रयोग गरी चलाउने गरेको पत्ता लगाएको छ। छांगुरले आफ्ना गुर्गाहरूसँग ‘प्रोजेक्ट’, ‘मिट्टी पलटना’, ‘काजल लगाउनु’, ‘दर्शन’ जस्ता शब्द प्रयोग गरेर सम्पर्क गर्ने गर्थे।

प्रोजेक्ट = टारगेट युवती

मिट्टी पलटना = धर्मान्तरण

काजल लगाउनु = मानसिक प्रभाव पार्ने प्रक्रिया

दर्शन = सम्पर्कमा ल्याउने भेटघाट

छांगुरले युवतीहरूलाई विदेश भ्रमण, रोजगारी, स्कलरशिप र आर्थिक सहयोगको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने रणनीति अपनाउने गरेको भारतीय सुरक्षा अधिकारीहरूको भनाइ छ।

छांगुरको नेपाली सम्पर्क र भारतमाथिको सम्भावित खतरा


भारतीय सुरक्षास्रोतका अनुसार, छांगुरको नेटवर्कले नेपाललाई ‘कलेक्शन सेन्टर’को रूपमा प्रयोग गर्ने गरेको सूचना फेला परेको छ। दुबई हुँदै आउने हवाला रकम वा विस्फोटक पदार्थहरू काठमाडौंमार्फत युपी, बिहार, पश्चिम बंगालसम्म पु¥याउने सञ्जाल सक्रिय भएको शंका उठेको छ।

१५ अगस्ट (भारतको स्वतन्त्रता दिवस) लाई लक्षित गर्दै टेरर फन्डिङमार्फत आतंककारी गतिविधि योजनाको खतरा रहेको भन्दै भारतीय गुप्तचर निकायहरू निकै सतर्क भएका छन्। भारतीय सुरक्षास्रोतले साँघु न्यूजलाइ जानकारी दिए अनुसार, नेपालबाट आरडीएक्सजस्ता विस्फोटक पदार्थ र अवैध नगद भारत पठाउने काममा छांगुर समूह संलग्न हुन सक्ने प्रबल आशंका छ।

सोहराबको गिरफ्तारी : सञ्जालको अर्को तह उजागर


यूपी एसटीएफले छांगुरका भतीजा सोहराबलाई उतरौला क्षेत्रबाट पक्राउ गरेको छ। आजमगढ़मा अवैध धर्मान्तरण र हवाला कारोबार सम्हाल्ने जिम्मा उसकै काँधमा थियो। सोहराबको बयानबाट धेरै तथ्य खुल्ने विश्वास एटीएसले लिएको छ। यसअघि पनि एटीएसले छांगुर सँग सम्बन्धित पाँच अभियुक्तहरूलाई पक्राउ गरिसकेको छ।

भारत-नेपाल सम्बन्ध र सुरक्षा संवेदनशीलता


नेपाल र भारतबीच खुला सिमाना, साझा संस्कृति र आपसी सम्बन्ध रहेका बेला यस्ता आपराधिक तथा आतंकवादी नेटवर्कको नेपाल प्रयोग हुन सक्ने आशंका गम्भीर विषय बनेकाेमा स्राेतले चिन्ता व्यक्त गरेकाे छ । भारतको स्वतन्त्रता दिवसलाई लक्षित गरी आतंककारी र धम्कीपूर्ण गतिविधिका लागि नेपाल प्रयोग हुने सम्भावनाले नेपाल सरकार र सुरक्षा निकायलाई पनि सजग हुन आवश्यक स्राेत बताउछ ।

विश्लेषणात्मक टिप्पणी:


छांगुर प्रकरण धर्म, पैसा र आतंकको त्रिकोणात्मक गठजोडको स्पष्ट प्रतिबिम्ब हो। यसको छायाँ नेपालमाथि पनि परेको देखिनु चिन्ताको विषय हो। भारतको आतंरिक सुरक्षा जस्तै नेपालको अन्तर्राष्ट्रिय छवि, कूटनीतिक सम्बन्ध र आन्तरिक स्थायित्वसमेत यस्ता नेटवर्कबाट प्रभावित हुन सक्छ। यस सन्दर्भमा नेपाली सुरक्षा निकाय र सरकारले भारतसँग प्रभावकारी समन्वय गर्दै साझा निगरानी र नियन्त्रणको रणनीति अघि बढाउनु अपरिहार्य देखिन्छ।

निष्कर्षमा, छांगुर उर्फ जलालुद्दीन केवल धर्मान्तरणको अपराधी होइन-उसको जालो सम्पूर्ण दक्षिण एसियाको धार्मिक अस्थिरता, आतंक र अवैध वित्त प्रवाहको प्रतिनिधि ‘केस स्टडी’ बन्दै गएको छ। अब यस्को अन्तर्राष्ट्रिय स्तरमा छानबिन, निगरानी र प्रतिकार आवश्यक छ-नत्र, ‘नेपालको बाटो’ हुँदै ठूलो खतरा आउने संकेतहरू नदेखिने होइनन्।


 

प्रतिकृया दिनुहोस