• शुक्रबार-श्रावण-२-२०८२

कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन

 

उर्लाबारी, २ साउन । अनलाइन टिभी पत्रकार संघ, नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । अधिवेशनले उर्लाबारी मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मतरूपमा गठन गरेको हो ।

 

संघको उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा सरोज बस्नेत (मोरङ), सहसचिवमा विनोद राना मगर (सुनसरी) र कोषाध्यक्षमा मोरङकी सम्झना राई चयन भए । त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताब अली र निशान ढकाल चयन भएका छन् ।

 

२०७६ सालमा काठमाडौँमा स्थापना भएको अनलाइन टिभी पत्रकार संघले इन्टरनेटमार्फत भिडियो पत्रकारितामा सक्रिय पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको छ। संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार अहिलेसम्म दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने अन्य प्रदेशहरूमा पनि निकट भविष्यमै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ ।

 

संघले हालसम्म १५ जिल्लामा जिल्ला शाखा गठन गरिसकेको छ । अब छिट्टै केन्द्रीय अधिवेशन आयोजना गरी शाखा विस्तारलाई थप तीव्रता दिने योजना रहेको रेग्मीले बताए ।

 

इन्टरनेट पत्रकारिता क्षेत्रमा सक्रिय अनलाइन टिभी पत्रकारहरूलाई संस्थागत र जिम्मेवार बनाउने उद्देश्यले संघले नेपालमै पहिलो पटक ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरी लागू गरेको छ। साथै, संघले आफ्ना सदस्यहरूलाई विभिन्न तालिममार्फत दक्ष बनाउने कार्य पनि नियमित रूपमा गर्दै आएको छ ।
 

 

प्रतिकृया दिनुहोस