काठमाडौँ, २ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा आयोजित अन्तक्र्रियामा उहाँले देशको अर्थतन्त्र सदृढीकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनुपर्ने बताउनुभयो ।
“औपचारिकीकरण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि आवश्यक छ । औपचारिकीकरण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला हो,” उहाँले भन्नुभयो, “यो अब विकल्प नभई आवश्यकता हो ।”
यसैगरी उहाँले व्यवसाय दर्ता प्रक्रियालाई सरल र डिजिटल बनाउन, कर प्रणालीलाई पारदर्शी र व्यवसायमैत्री बनाउन, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत र प्रशिक्षण प्रदान गर्न र महिला, युवा तथा ग्रामीण उद्यमहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महासङ्घले औपचारिकीकरणका पहललाई निरन्तर साथ दिँदै आएको र यो विषयमा थप प्रभावकारी कदम चाल्न सरकार, निजी क्षेत्र, र अन्य सरोकारवाला समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले यो छलफलले औपचारिकीकरणको विषयलाई थप स्पष्ट बनाउने उल्लेख गर्नुहुँदै सरोकारवाहरूको संयुक्त प्रयासले मात्रै नेपालको अर्थतन्त्रलाई औपचारिक र समृद्ध बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिकीकरण समितिका अध्यक्ष प्रदीपकुमार कोइरालाले औपचारिकीकरणका लागि समितिले प्रभावकारी ढङ्गले काम गरिरहेको र यो निरन्तर भइरहने प्रक्रिया भएको बताउनुभयो ।
---
प्रतिकृया दिनुहोस