काठमाडौँ, ३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ तालिका छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरुले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्नुहुनेछ । २०८२ साउन २ गते शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राख्नु भएको थियो ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रित पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्यतालिका उहाँले जानकारी दिनुभयो ।
एमालेको विधान महाधिवेशन आगामी २०८२ भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ ।
---
प्रतिकृया दिनुहोस