काठमाडौं, साउन ३, २०८२ – साहित्य सन्ध्याले ‘बालसाहित्यमा प्रविधिको प्रयोग र त्यसको प्रभाव’ शीर्षकमा विशेष परिचर्चा र कविगोष्ठीसहित ४६५ औँ नियमित मासिक शृङ्खला सम्पन्न गरेको छ। आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा साउन ३ गते शनिबार अपराह्न १ बजे सुरु भएको कार्यक्रम सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रा.डा. ध्रुवकुमार घिमिरे र कार्तिकेय घिमिरे सहभागी हुनुहुन्थ्यो। अतिथिका रूपमा डा. फणीन्द्रराज निरौला, नर्मदेश्वरी सत्याल, डा. राजेन्द्रप्रसाद अधिकारी, देवीप्रसाद घिमिरे, चिन्तामणि सिवाकोटी, खेमराज निरौला, गङ्गा कर्माचार्य पौडेल, मिसन अधिकारी, बैरागी जेठालगायतको उपस्थिति रहेको थियो।
बालसाहित्य र प्रविधिको सम्बन्धमा विश्लेषण
कार्यक्रमको मूल विषय ‘बालसाहित्यमा प्रविधिको प्रयोग र प्रभाव’ मा धारणा राख्दै कार्तिकेय घिमिरेले बालसाहित्यलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। प्रविधिले बालबालिकासम्म साहित्य पुर्याउन सहज बनाएको उल्लेख गर्दै उहाँले भने, “आज प्रविधिको प्रयोगद्वारा बालगीत, कथा, कविता सजिलै डिजिटल माध्यममार्फत घरघरमा, विद्यालयसम्म पुर्याउन सकिन्छ।”
उहाँले सामाजिक सञ्जाल, मोबाइल एप्स र कक्षा शिक्षामा समेत प्रविधिको प्रयोगमार्फत बालसाहित्यलाई प्रभावकारी बनाउने सम्भावना रहेको धारणा राख्नुभयो। साथै उहाँले क्यानडा र चीनजस्ता देशले बालमैत्री प्रविधिकै विकास गरेर अभिभावकको भूमिकालाई समेत सुदृढ बनाएको उदाहरण दिनुभयो।
विज्ञान र प्रविधिको सन्तुलित प्रयोग जरुरी : प्रा. डा. ध्रुवकुमार घिमिरे
विशिष्ट अतिथि प्रा. डा. ध्रुवकुमार घिमिरेले प्रविधिलाई वैज्ञानिक अनुसन्धानको परिणाम मान्दै त्यसको सन्तुलित प्रयोगका पक्षमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको रुचि, चेतना र क्षमता अभिवृद्धिमा प्रविधिमार्फत प्रस्तुत गरिने सामग्रीले सकारात्मक असर पार्न सक्छ। तर, त्यसको दुरुपयोगले हानि पनि पुर्याउन सक्छ।”
उहाँले बालसाहित्यका माध्यमबाट विज्ञानसम्मत तथ्य प्रस्तुत गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो। साथै, प्रविधिमैत्री तर बालमैत्री सामग्री विकास गर्नुपर्ने उल्लेख गर्दै “रमाइला तर ज्ञानबर्धक” सामग्री तयार पार्नुपर्ने सुझाव दिनुभयो।
रचनात्मक कविता वाचन र आलोचनात्मक समीक्षा
कार्यक्रममा प्रवीण जोशी, गोपाल नेपाल, बैरागी जेठा, डा. मनोज जोशी, कुमार नेपाल, नवराज श्रेष्ठ, जयन्ती स्पन्दन लगायत करिब ३० जना स्रष्टाहरूले आआफ्ना कविता, गीत र गजल वाचन गरेका थिए। वाचन गरिएका रचनामा बालकविता, सामाजिक विसङ्गति, राष्ट्रियता, लोकतन्त्र, युवापलायन, न्यायको अभाव, पर्यावरणप्रेम, समाज सुधार र चेतना अभिवृद्धिका विषय समेटिएका थिए।
रचनामाथि समीक्षात्मक टिप्पणी गर्दै डा. घिमिरेले स्वतन्त्र जीवनको पक्षमा वकालत गरिएको, समसामयिक विद्रोही स्वर मुखरित भएको र प्रतीकात्मक शैलीमा गौरवशाली संस्कृतिको उजागर गरिएको उल्लेख गर्नुभयो। बालकवितादेखि वैचारिक कवितासम्म समेटिनु समारोहको विशेषता रहेको उहाँको भनाइ थियो।
साहित्य सन्ध्याको निरन्तर प्रयास
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या २०३९ सालदेखि सामाजिक रूपान्तरणको अभियानमा लागिरहेको संस्था भएको उल्लेख गर्दै, “नयाँ र पुराना स्रष्टालाई एउटै मञ्चमा ल्याएर मासिक रूपमा बहस गर्ने र सिर्जना प्रस्तुत गर्ने कार्यशालाको स्वरूप निर्माण गरिएको छ,” भन्नुभयो। उहाँले शासन सत्ता प्रतिकूल भए पनि आवाज उठाउने कार्य निरन्तर जारी रहने बताउनुभयो।
साथै, उहाँले बालसाहित्य जस्तो महत्त्वपूर्ण विषयमा विशिष्ट व्यक्तित्वद्वारा गरिएको गहन परिचर्चा र स्रष्टाहरूको सक्रिय सहभागिताले आजको शृङ्खला सार्थक भएको टिप्पणी गर्दै आगामी महिनामा पनि यस्तै विशेष बहस र कविगोष्ठी आयोजना गरिने जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस