२०८२ साउन ७, काठमाडौं। देशका विभिन्न जिल्लामा महिलाहरू र बालिकामाथि भएका यौनजन्य अपराधका घटनामा संलग्न चार जना पक्राउ परेका छन्। प्रहरीको सक्रियतामा पीडितहरूको उजुरीको आधारमा ती अभियुक्तहरूलाई सम्बन्धित स्थानबाट नियन्त्रणमा लिइएको हाे। हाल उनीहरूविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
ओखलढुंगामा २० वर्षीया महिलामाथि बलात्कार, ५२ वर्षीय शेर्पा पक्राउ
ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–७ धनेपु निवासी ५२ वर्षीय तेन्जी शेर्पाले २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको टोलीले २०८२ साउन ६ गते मंगलबार दिउँसो शेर्पालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान पश्चात उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
धनकुटामा दुई अलग घटना: दुई युवकले १४ र १८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
धनकुटा जिल्लामा दुई किशोरीमाथि भएका बलात्कार घटनामा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पहिलो घटना धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा भएको हो, जहाँ इनरुवा नगरपालिका–७ चाँदवेला घर भई डेरा गरी बस्दै आएका २६ वर्षीय महमद सुबजानले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको छ। साउन ५ गते सोमबार साँझ इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
दोस्रो घटना चौबिसे गाउँपालिका–५ चौबाटेमा भएको हो, जहाँ १८ वर्षीया किशोरीमाथि २८ वर्षीय रोशन तामाङले बलात्कार गरेको उजुरी दर्ता भएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरी टोलीले साउन ६ गते मंगलबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।
कैलालीमा २३ वर्षीया महिलामाथि बलात्कार, एक युवक पक्राउ
कैलालीको लम्कीचुहा नगरपालिका–७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुलले २३ वर्षीया महिलामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ। घटनापछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले साउन ६ गते मंगलबार साँझ भुललाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धान जारी रहँदा पीडित महिलाको बयान संकलन र स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
सुरक्षा र न्यायको सवालमा प्रहरीको तत्परता
चारवटै घटनामा प्रहरीको समयमै पीडितको उजुरीप्रति देखाएको सक्रियता उल्लेखनीय छ। जिल्ला प्रहरी कार्यालयहरूले घटनाको गम्भीरता अनुसार अनुसन्धान अघि बढाइरहेका छन्। अनुसन्धान पूरा भएपश्चात कानुनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरिने प्रहरी स्रोतले बताएको छ।
नारी हिंसाविरुद्धको चेतना अझै अपर्याप्त
देशभर यस्ता घटना दिनानुदिन दोहोरिइरहँदा यौन हिंसाविरुद्धको चेतना अभाव, कानूनी डरको कमी, र सामाजिक दबाबका कारण पीडितहरू अझै पनि न्यायबाट टाढा रहन बाध्य छन्। कानून कार्यान्वयनका निकाय र नागरिक समाजले समन्वय गरेर पीडितमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता एकपटक फेरि उजागर भएको छ।
प्रतिकृया दिनुहोस