काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति चासो व्यक्त गरेका हुन् ।
उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो ।’
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे ।
उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गरे ।
‘आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने ।
त्यस्तै, कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याए ।
उनले भने, ‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।’
कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस