काठमाडौं । नेकपा एमालेले विभिन्न ७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । पार्टीको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकले उक्त प्रस्ताव पारित गरेको हो । एमालेले कांग्रेससँगको वर्तमान गठबन्धन सरकारले गरेका कामहरूलाई पनि पार्टी प्रस्तावमा समेटेको छ ।
बैठकले भ्रष्टाचार र अनियमितताप्रति निसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा रहेको प्रतिबद्धता जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले ७ बुँदे समसामयिक प्रस्तावबारे जानकारी गराएको हो ।
यस्ता छन् पारित प्रस्तावहरु :
१. नेकपा (एमाले) र नेपाली काँग्रेसबीच सम्पन्न ७ बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ। अस्थिरताका यावत् प्रयासलाई चिर्दै सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको छ । राजावादीहरूद्वारा गरिएको प्रतिक्रान्तिको दुष्प्रयासलाई विफल तुल्याइएको छ। महत्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ। अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ सुरु गरिएको दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ। दैलेखमा नेपालको ५० वर्षसम्मको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय हो। सरकारले बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको उपस्थिति, एजेन्डा र भूमिकालाई प्रभावकारी बनाउँदै लगेको छ । सहकारी क्षेत्रका बेथितिहरूलाई सम्बोधन गर्दै बचतकर्ताहरूको बचत फिर्ता गराउने र अनियमिततामा सङ्लग्नहरूलाई कानुनी दायरामा ल्याउने काम पनि अगाडि बढेको छ। हालै श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ ।
केन्द्रीय कमिटीको नवौँ बैठक वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोरÞ्याउन चाहन्छ र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्दछ ।
२. भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ। यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको तथ्य सर्वविदितै छ। सार्वजनिक पदमा रहेका नेता, कार्यकर्ता विरुद्ध गम्भीर कानुनी या नैतिक प्रश्न उठेपछि त्यसको छानबिनका लागि मार्गप्रशस्त गर्ने र छानबिन नसकुञ्जेल जिम्मेवारीबाट बाहिर रहने परम्परा बसाल्ने पार्टी नेकपा (एमाले) नै हो भन्ने कुरा विगतमा हामीले पुष्टि गरिसकेका छौँ। भोलिका दिनमा पनि हामी यसै अनुरुप अगाडि बढ्ने संकल्प यो बैठक पुनः दोहोरÞ्याउन चाहन्छ। तर पार्टीले स्थापना गरेको यस मानकलाई बेवास्ता गर्दै अपुष्ट र नियोजित ढंगले गरिने भ्रम प्रचारको भने पार्टी दृढ प्रतिवाद गर्दछ ।
३. भोलि साउन ७ गते, ४७ औँ पुष्पलाल स्मृति दिवस। ४७ औँ स्मृति दिवसको यस अवसरमा यो बैठक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका अविचलित धरोहर, संयुक्त जनआन्दोलनका प्रणेता एवं नेपालको इतिहासको वैज्ञानिक व्याख्याता कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ र उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने संकल्प गर्दछ ।
४. मनसुनको मध्यअवस्थामा आइपुग्दा पनि मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाइँ गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति एमाले गहिरो चिन्ता व्यक्त गर्दछ। सुख्खाग्रस्त क्षेत्रमा किसानहरूलाई आवश्यकता अनुसार वैकल्पिक बाली लगाउन आवश्यक प्राविधिक सहायता र राहत उपलब्ध गराउन यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ। जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दछ ।
५. यस पटक पनि किसानहरूले धान खेतीमा आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकेको गुनासो सुनिएको छ। सरकारले चैते धान खेती वृद्धि गर्न प्रोत्साहन गरे अनुरुप गतः वर्ष धेरै किसानहरूले चैते धान लगाए पनि त्यसको बजार प्रबन्ध हुन नसकेकाले किसानहरू मर्कामा परेको गुनासो पनि देखापरेको छ। त्यसै गरी दुध उत्पादक किसानहरूलाई दुग्ध विकास संस्थान र निजी डेरीहरूले भुक्तान गर्नुपर्ने ३ अर्बभन्दा बढी बक्यौता अझै बाँकी रहेको र यसले किसानहरूलाई निकै मर्कामा पुरÞ्याएको यथार्थ पनि सार्वजनिक भएको छ। यो बैठक सरकारले नेपाली किसानहरूले भोग्नुपरेका यी लगायत यावत् समस्याहरूको तदारुकताकासाथ समाधान गर्न, नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न आह्वान गर्दछ ।
६. यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठूलो क्षति पुरÞ्याएको छ। बाढी पहिरोले कैयौँ व्यक्तिको ज्यान गएको छ भने कतिपय व्यक्ति अझै पनि वेपत्ता छन्। बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउनुका साथै सुख्खा बन्दरगाहमा राखिएका दर्जनौँ गाडी, कन्टेनर र भौतिक संरचनामा समेत अकल्पनीय क्षति पुरÞ्याएको छ । केन्द्रीय कमिटीको यो बैठक बाढी पहिरोले पुरÞ्याएको यस क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ। मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्र राष्ट्रसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि आह्वान गर्दछ ।
७. यो बैठक नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड बैकुण्ठनाथ दाहाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड गणेश पौडेल, लुम्बिनी प्रदेश सल्लाहकार परिषद्का सदस्य कमरेड खगराज शर्मा र पार्टी स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितकी जीवनसँगिनी एवं प्रतिबद्ध पार्टी कार्यकर्ता कमरेड विमला महतको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
प्रतिकृया दिनुहोस