• शनिबार-श्रावण-१७-२०८२

चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि सापकोटा पक्षमा समर्थन बलियो

८औं अधिवेशनमा सर्वसम्मत नेतृत्वको प्रयास, प्रतिस्पर्धाको सम्भावना कायमै

 

रौतहट, चन्द्रपुर – चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि २०८२ साउन १७ गते शनिबार हुने २८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदयनारायण सापकोटाको पक्षमा व्यापारी समुदायको समर्थन जुट्ने सम्भावना रहेकाे चर्चा छ। संघको नव निर्मित भव्य भवनमै हुन लागेको अधिवेशन संघको इतिहासमै महत्वपूर्ण मानिएको छ।
 

विगत कार्यकालमा संघलाई संस्थागत रूप दिँदै ऐतिहासिक उपलब्धिहरू हासिल गरेका सापकोटाको पुनः अध्यक्ष बन्ने सम्भावना प्रबल देखिएको छ। व्यापारीहरूका अनुसार सापकोटाको कार्यकालमा संघले आफ्नै भवन निर्माण, व्यवसायीका समस्या समाधान, नीतिगत सुधार तथा सरकारी तहसँग समन्वयमा उल्लेखनीय सफलता हात पारेको छ।

“सापकोटाले संघलाई एउटा सबल संरचनाको रूपमा अगाडि ल्याउनु भयो,” व्यवसायी शिवराम राउतले भने, “अहिले अधुरो रहेको कामलाई पूरा गर्न फेरि उहाँकै नेतृत्व आवश्यक छ। हामी उहाँलाई सर्वसम्मत बनाउने प्रयासमा छौं।”

सुस्पष्ट वक्ता, दूरदर्शी दृष्टिकोण, राजनीतिक तथा प्रशासनिक तहसँगको समन्वय र उद्यमशीलता प्रवर्द्धनमा अग्रसर सापकोटालाई स्थानीय व्यापारीहरूले ‘भिजनरी लिडर’ का रूपमा लिएको देखिन्छ।

यद्यपि, अधिवेशनमा पूर्व महासचिव सुनिल कुमार साहले पनि अध्यक्ष पदमा दाबी गर्दै उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस र एमाले निकट नेताहरूको समर्थन प्राप्त गरेको भनिएका साहले “संघमा परिवर्तन र नयाँ सोच” का नारासहित मैदानमा उत्रिएका हुन्। तर उनी महासचिव रहँदा संघमा उल्लेख्य उपलब्धि नभएको भन्दै उनको आलोचना समेत भइरहेकाे छ।

“साहज्यूको महासचिव कालखण्डमा संघ सुस्त थियो, अहिले संस्थागत निरन्तरता आवश्यक छ,” चन्द्रनिगाहपुरका व्यवसायी दीपक न्यौपानेले टिप्पणी गरे।

संघले आगामी कार्यकालमा आर्थिक सुदृढीकरण, युवा उद्यमशीलता प्रवर्द्धन, नीति सुधार, र संघ–सरकार–व्यवसायी समन्वयलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ।

शनिबार हुने अधिवेशनमा कुनै सहमति बन्न नसके प्रतिस्पर्धा हुने जनाइएको छ। यद्यपि, सर्वसम्मत नेतृत्वका लागि प्रयास जारी रहेको संघ स्रोतले जनाएको छ।

अधिवेशनमार्फत चन्द्रपुरको व्यवसायिक क्षेत्रलाई थप संस्थागत रूप दिँदै आगामी दिनमा उद्यमशीलता र आर्थिक समृद्धिको साझा एजेण्डा अघि सारिने अपेक्षा व्यापारी समुदायले गरेका छन्।

प्रतिकृया दिनुहोस