धरान — प्रधान सम्पादक खेमनाथ दाहाल र सम्पादक रमेश दाहालद्वारा सम्पादित ‘विद्यालोक धरान’ ग्रन्थको लोकार्पण वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रवेशिका परीक्षा समूह–२०२५, धरानले प्रकाशित गरेको ५३२ पृष्ठको यो ऐतिहासिक कृति धरानको शैक्षिक इतिहासलाई विस्तृत रुपमा समेटेको छ ।
भव्य उपस्थितिसहितको समारोह
पब्लिक हाईस्कूल धरानका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि सुरेशकुमार शर्मा, विशेष अतिथिहरु प्रा. डा. माधवप्रसाद पोखरेल, अधिवक्ता हरिहर दाहाल, पब्लिक हाईस्कूलका प्रधानाध्यापक इन्द्रमोहन झा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व कामु सचिव सुरेशकुमार वर्मा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी, अभिनेत्री प्रियङ्का कार्की लगायतका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।
सांस्कृतिक एवं औपचारिक उद्घाटन
समारोहको सुरुवातमा पं. दिवंगत छविलाल र पूर्व प्रधानाध्यापक स्व. हरिहरप्रसाद वर्माको तस्वीरसँग सरस्वती माताको चित्रमा माल्यार्पण तथा दियो प्रज्वलन गरिएको थियो । प्रमुख अतिथि रिजालले एनिमेशन गरिएको ग्रन्थको भिडियो ब्यानर प्रोजेक्टरमार्फत उद्घाटन गरेका थिए ।
छात्रवृत्ति कोषको घोषणा
सम्पादक खेमनाथ दाहालका अनुसार, ग्रन्थको बिक्रिवितरणबाट जम्मा हुने रकमबाट अक्षयकोष स्थापना गरिनेछ । उक्त कोषको आम्दानी धरानस्थित सामुदायिक हाईस्कूलमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक छात्रवृत्ति वितरणमा प्रयोग गरिनेछ ।
समीक्षा र शुभकामना मन्तव्य
प्रा. डा. कृष्णप्रसाद दाहाल र प्रा. डा. सजिता वर्माले ग्रन्थको विस्तृत समीक्षा प्रस्तुत गरे । प्रा. डा. माधवप्रसाद पोखरेल, अभिनेत्री प्रियङ्का कार्की, इन्द्रमोहन झा, मञ्जु भण्डारी, राजेन्द्रकुमार भण्डारी लगायतका अतिथिहरुले ग्रन्थको महत्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरे ।
सम्मान र कदरपत्र
अधिवक्ता देवीबहादुर घिमिरे र बलराम न्यौपानेले प्रकाशनको अनुभव सुनाएका थिए । समारोहमा सम्पादक रमेश दाहाललाई नेपाली भाषा–साहित्यमा योगदान र कुशल सम्पादनको प्रशंसासहित सम्मानपत्र अर्पण गरिएको थियो, जसको वाचन मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले गरेका थिए ।
समापन
चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको सञ्चालनमा सम्पन्न समारोहमा प्रमुख, विशिष्ट र विशेष अतिथिलाई स्मृतिचिह्न प्रदान गरिएको थियो । अन्त्यमा सभापति हरिबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गरेका थिए ।
प्रतिकृया दिनुहोस