२०८२ साउन २१, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने दाबी गरेका छन्। बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए।
गुरुङका अनुसार देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अपरिहार्य भएको हो।
“अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर नेकपा (एस) सँग पनि एकताको विषयमा छलफल भइरहेको छ,” गुरुङले भने।
एकताका आधार र तयारी
गुरुङले विचार र राजनीतिक प्रतिबद्धतामा धेरै भिन्नता नदेखिएकाले छिटो एकता सम्भव हुने बताए।
उनका अनुसार समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन बलियो बनाउने उपाय, सदन र सडकसम्मको संघर्ष रणनीति लगायतका विषयमा छलफल गरेर एकताको आधार तय गर्नुपर्नेछ।
स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रीत भएको हो भन्ने प्रश्नमा गुरुङले पार्टीभित्र गहिरो छलफल भई अझ एकताबद्ध भएको जवाफ दिए।
“देशको राजनीतिक संकटको घडीमा पार्टी बलियो बनाउन विचार मिल्ने शक्तिहरुसँग एकता गर्नुपर्छ। कसैको विचारलाई निषेध गर्न मिल्दैन,” उनले स्पष्ट पारे।
भिजिट भिसा र कुलिङ पिरियड प्रकरण
गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अबरुद्ध गर्दा विधेयक रोकिएको कारण दुई बुँदे सहमति गरिएको बताए। स्थायी समितिले उक्त सहमति सही भएको मूल्याङ्कन गरेको उनको भनाइ थियो।
त्यस्तै, कुलिङ पिरियडबारे बनेको छानबिन समितिले यथार्थपरक निष्कर्ष निकालेर त्रुटि सच्याउनुपर्नेमा पार्टी प्रतिबद्ध रहेको पनि उनले जोडे।
विप्लव नेकपाको धारणा
कार्यक्रममा बोल्दै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी (शुसिल) ले माओवादी स्थायी समितिको एकता निर्णयलाई स्वागत गरे।
कर्णाली प्रदेश इन्चार्ज समेत रहेका उनले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र समाजवादी क्रान्तिका लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध शक्तिबीच एकता आवश्यक रहेको बताए।
उनले २०८४ सालमा देश पुनः “माओवादीमय” हुने दाबी गर्दै, एकतापछि निराश जनता र कार्यकर्ताहरु पुनः सक्रिय हुने विश्वास व्यक्त गरे।
शुसिलका अनुसार दलाल संसदीय व्यवस्थाको विकल्पका रूपमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुको एकता अपरिहार्य छ।
नयाँ पुस्ता, अवसरबाट वञ्चित इमान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्तिहरुको नेतृत्व सुनिश्चित हुने गरी एकता हुनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, उनले समाजवादका लागि उत्पादनलाई केन्द्रमा राख्दै आफ्नो पार्टी श्रम र उत्पादनको माध्यमबाट अघि बढिरहेको बताए।
सम्भावित राजनीतिक प्रभाव
विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीचको एकता केवल दलगत गणित मात्र नभई नेपालको बायाँ राजनीति पुनः ध्रुवीकृत हुने संकेत हो। २०७३ सालको विभाजनपछि माओवादी आन्दोलन विखण्डित हुँदै आएको अवस्थामा यो एकता सफल भएमा तत्कालीन सशस्त्र संघर्षको राजनीतिक धारा फेरि एउटै छातामुनि आउनेछ, जसले बायाँ पाटीहरूको संगठित प्रभाव संसद् र सडक दुवैमा बढाउन सक्छ।
यो एकताले ग्रामीण क्षेत्रमा अझै प्रभाव राखिरहेको विप्लवको संगठन र माओवादी केन्द्रको व्यापक राजनीतिक पहुँचलाई एकसाथ जोड्ने सम्भावना छ। विशेषगरी २०६२/६३ को जनआन्दोलनमा सक्रिय तर अहिले निष्क्रिय बनेका कार्यकर्ता पुनः सक्रिय हुने अवस्था बन्यो भने, समाजवादी क्रान्तिको नाममा ठूला आन्दोलन पुनर्जीवित हुन सक्छन्।
तर, यसले राष्ट्रिय राजनीति स्थायित्वभन्दा बढी अस्थिरता निम्त्याउने चिन्ता पनि केही पक्षमा देखिन्छ। कारण, दलाल संसदीय व्यवस्था विरोधी घोषणाले गठबन्धन सरकार र संसदीय प्रक्रियामा दबाब बढ्नेछ। यो दबाब विशेषगरी नेकपा (एस), नेकपा (एमाले) र मध्यमार्गी शक्तिहरुसँगको सम्बन्धमा तनाव ल्याउन सक्छ।
आगामी २०८४ सालको निर्वाचनलाई लक्ष्य गरेर गरिएको एकता हो भने, यसले बायाँ राजनीतिक शक्तिहरूको मताधार एकजुट पार्ने मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि सत्ता समीकरण फेरबदल गर्ने सम्भावना छ। तर, विचार र कार्यक्रमगत अन्तरलाई व्यवस्थापन गर्न नसकिएमा एकता टिकाउ नहुने जोखिम कायम रहनेछ।
प्रतिकृया दिनुहोस