• शुक्रबार-श्रावण-३०-२०८२

अकूत सम्पत्ति आर्जनको आरोपमा पर्यटन विभागका सचिन्द्रकुमार यादवविरुद्ध मुद्दा

 

काठमाडौँ, ३० साउन : अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो । 

 

यादवले सो अवधिमा कुल रु दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले रु तीन करोड ६५ लाख चार हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा रु ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ । 

 

पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ । 

 

आयोगले आरोपी यादव र उहाँका पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस