नेपालगञ्ज, ३० साउन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तिले जानकारी दिनुभयो ।
“लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पिछा गरिरहेका थियौँ । तर त्यहाँ चार जना रहेछन्”, उहाँले भन्नुभयो । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताउनुभयो ।
प्रहरीले नेपागञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रूपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्तिक कुमारलाई पक्राउ गरिएको छ । उनीहरूमध्ये कात्तिक कुमारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोबारीले प्रहार गरेको इट्टा लागेर एक जना प्रहरीसमेत घाइते भएका छन् ।
उहाँलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनीहरूसँगबाट प्रहरीले लागूऔषध बरामद गरेको छ ।
---
प्रतिकृया दिनुहोस