• आइतबार-भदौ-१५-२०८२

काठमाडौंको सुरक्षा : बालेनको लडाइँ र प्रभुको बाधा

कबाडी गोदाम : लगानीको राजनीति कि जनताको ज्यान

केही महिनाअगाडि काठमाडौंको इन्द्रचोकस्थित भेडासिंह बाङ्गेमुढामा दिँउसो आगलागी भयो । साँघुरो गल्लीबीच रहेको उक्त घरमा दमकल पुग्नै मुस्किल पर्नु मुख्य कारण बन्यो । त्यस आगलागीमा दोलखाकी एकजना वृद्ध महिलाले ज्यान गुमाइन् । त्यसअघि ललितपुरको धोबीघाटस्थित कबाडी गोदाममा भएको आगलागीले ठूलो क्षति पुर्‍याएको थियो ।

यी त उदाहरण मात्र हुन् । उपत्यकाका सडक साँघुरा छन्, यातायातकाे जाम उस्तै दमकल समयमै नपुग्दा आगलागीमा जनधनको क्षति हुने क्रम बढ्दो छ ।

आगलागीका तीन मुख्य कारण

१. बिजुली सर्ट
२. ग्याँस लिक
३. घनाबस्तीमै कबाडी गोदाम, ग्याँस डिपो, पेट्रोल पम्प, पार्टी प्यालेस, वर्कसप र रिकण्डिसन पसल राख्ने प्रचलन, खतराकाे घण्टी !

आज प्रत्येक घरमा ग्याँस र बिजुलीको प्रयोग हुन्छ । तर ग्याँस ‘बम’ सरह हो, बेलैमा सावधानी नअपनाउँदा ठुला दुर्घटना निम्त्याउन सक्छ । बजारमा प्रचलित अधिकांश ग्याँस सिलिण्डर पुराना, कुच्चिएका र रंग उत्रिएका छन् । सरकारको अनुगमन नहुँदा जोखिम बढिरहेको छ ।

त्यस्तै, कबाडी गोदाममा कागज, प्लास्टिक, कार्टुन जस्ता सजिलै बल्ने सामग्री हुन्छन् । एक पटक आगो लागेपछि वरिपरिको बस्तीसमेत चपेटामा पर्छ, सखाप पार्न सक्छ । 

बादलको निर्णय र वर्तमान बेवास्ता

२०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री भएपछि रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बने । उनले ३५ दिने सूचना जारी गरी उपत्यकाभित्र रहेका तरकारी बजार, बसपार्क, कबाडी गोदाम, ड्राइभिङ सेन्टर, वर्कसप आदिलाई बाहिर सार्ने निर्णय गरेका थिए । तर, त्यो कार्यान्वयनमा आएको देखिँदैन ।

सरकारले आजसम्म पनि उपत्यकाबासीको ज्यानलाई पहिलो प्राथमिकतामा राख्न सकेको छैन ।

प्रभु साहको हित र जनताको प्रश्न

हालसालै एमालेका पूर्व नेता तथा आजपाका अध्यक्ष प्रभु साहले काठमाडौंका कबाडी गोदाम हटाउन नहुने अभिव्यक्ति दिएका छन् । उनको कबाडी व्यवसायमा लगानी रहेको तथ्य बाहिर आइसकेको छ । जनताले उनलाई प्रश्न गरेका छन्—

“कबाडी गोदामका कारण केही भयो भने जिम्मेवारी तपाईं लिनुहुन्छ ?”

“भोटका लागि जनताको ज्यान दाउमा राख्न मिल्छ ?”

माओवादी जनयुद्धका क्रममा भूमिगत रहेर बैंक लुटेको, शहरी विकास मन्त्री हुँदा भ्रष्टाचार गरेको पैसाले कबाडी व्यवसायमा लगानी गरेको आरोपसमेत उनीमाथि लाग्छ । त्यस लगानी डुब्ने डरले उनले कबाडी सञ्चालकलाई उचालेर बालेन्द्र साह (बालेन) को विरोध गराइरहेका छन् भन्ने आरोप पनि छ ।

बालेनको भूमिका र जनसमर्थन

२०७९ वैशाखमा काठमाडौं महानगरवासीले स्वतन्त्र उम्मेदवार बालेनलाई मेयर बनाए । ६३ हजारभन्दा बढी जनताले दिएको समर्थनको अर्थ स्पष्ट छ-काठमाडौं सफा, सुरक्षित र व्यवस्थित चाहिन्छ ।

बालेनले संविधानले दिएको अधिकार प्रयोग गरेर कबाडी गोदाम हटाउने कदम चालेका छन् । यो अधिकार कसैले खोस्न सक्दैन । तर, व्यक्तिगत स्वार्थका लागि प्रभु साहजस्ता नेताले बालेनलाई रोक्ने प्रयास गरिरहेका छन् ।

संवैधानिक व्यवस्था र जनताको साथ

संविधान, २०७२ अनुसार स्थानीय तहलाई कर उठाउने, सुरक्षा दिने र आफ्नो पालिका व्यवस्थित बनाउने अधिकार छ । यही अधिकार प्रयोग गर्दै बालेनले कबाडी गोदाम हटाउने अभियान थालेका हुन् ।

काठमाडौंबासी यस कदमसँगै छन् । किनभने, साँघुरो सडकबीच बसेका गोदाम कुनै पनि बेला आगलागीको ठूलो जोखिम बन्न सक्छन् ।

निष्कर्ष

काठमाडौंलाई व्यवस्थित बनाउने जिम्मा स्थानीय सरकारको हो । प्रभु साहले आफ्ना लगानी जोगाउन जनताको ज्यानलाई बेवास्ता गर्न पाइँदैन ।

जनताको हितभन्दा व्यक्तिगत फाइदा ठुलो ठान्ने नेताहरूलाई काठमाडौंले अस्वीकार गरिसकेको छ । अब आवश्यक छ—

जोखिमपूर्ण गोदाम, ग्याँस डिपो र   संवेदनशील क्षेत्रका  सेना, प्रहरीका  पेट्रोल पम्प तत्काल हटाउने ।

अनुगमन र कारबाही कडाइ गर्ने ।

महानगरलाई आफ्नो काम गर्न स्वतन्त्रता दिने

काठमाडौं उपत्यकाको सुरक्षा जनताको प्राथमिक अधिकार हो, नेताहरूको व्यक्तिगत लगानी होइन ।

✍️ अनुसा थापा, भक्तपुर

प्रतिकृया दिनुहोस