काठमाडौँ । गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” बमोजिम सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतासम्बन्धी औपचारिक कार्यक्रम मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । उक्त अवसरमा गंगा हेल्थ केयर इन्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत हिस्सा साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।
वि.सं. २०५५ (सन् १९९८) मा घरेलु तथा साना उद्योगमा दर्ता भई ‘गंगा ब्याण्डेज उद्योग प्रा.लि.’ नामले स्थापित यो उद्योग हाल ‘गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेड’ को नाममा रुपन्देहीको तिलोत्तमा–१४ मा आफ्नै जग्गामा सञ्चालनमा रहेको छ । कम्पनीले स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका सर्जिकल सामग्री जस्तै— ड्रेसिङ ब्याण्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, ब्याण्डेज थान, क्रेप ब्याण्डेज, डिस्पोजेबल मास्क र टेट्रा गज उत्पादन गर्दै आएको छ ।
मानव स्वास्थ्यलाई प्राथमिकता दिँदै उद्योगले करिब ७० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुनेगरी कच्चा पदार्थ आयात गरी प्रशोधन र वितरण गर्ने कार्य गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस