काठमाडौँ । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा गजलको लोकप्रियता बढ्दो छ । परम्परागत साहित्यिक शैलीलाई समसामयिक अभिव्यक्तिसँग जोड्दै गजलले नेपाली साहित्य, संगीत र समाजबीच एउटा सेतुको काम गरेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनदेखि आत्मदर्शनसम्मका विषयलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आएका छन् । यसले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता र गहिरो अर्थ थपेको छ ।
नयाँ पुस्ता पनि गजलतर्फ आकर्षित भइरहेका छन् ।यही धारामा भर्खरै सार्वजनिक गजल ‘को हौ तिमी’ आत्मचिन्तन, आत्मनिर्भरता, एकान्त र जीवनको दार्शनिक पक्षलाई उजागर गर्ने कृति बनेको छ । गजलका शेरहरूले जीवनको अस्थिरता, खुशीको खोजी, मित्रता, पीडा र समाधानका गहिरा आयामलाई छुँदै मानिसलाई बाहिरी मोहबाट मुक्त भई आत्मकेन्द्रित जीवन जिउन प्रेरित गर्छन् ।
“को हौ तिमी के गर्दैछौ सोध आफैंसँग / पाइदैन खुसी अन्त खोज आफैंसँग…”
यो शेर गजलको आत्मचिन्तन यात्राको प्रारम्भ हो । गजलकार अर्जु गिरीले बाहिरी दुनियाँतर्फ होइन, आफ्नै अन्तरमनतर्फ फर्कन आग्रह गरेका छन् । वास्तविक खुशी बाहिरी स्रोतमा होइन, आत्म–सन्तोष र आत्म–परिचयमा निहित हुन्छ भन्ने सन्देश यसले दिन्छ ।
यस्तै,
“छुटि जान्छन् साथी संगी खेल समयको / एक असल मित्र तिमी बन आफैंसँग…”
शेरले जीवनको क्षणभंगुरतालाई देखाउँदै अन्ततः सबैभन्दा स्थायी मित्र आफ्नै आत्मा हुने गहिरो सत्य उजागर गरेको छ ।
त्यस्तै,
“यहाँ बुझ्ने कोही छैनन् तिम्रो पीर व्यथा / सम्हालिदै हरेक पल बाँच आफैंसँग…”
शेरले आत्मबल र आत्मसंयमलाई जीवनको कठिन क्षण पार गर्ने सर्वोत्तम उपायका रूपमा चित्रण गर्छ । बाहिरी सहारा क्षणिक हुन्छ, तर आत्मनिर्भरता शाश्वत शक्ति हो भन्ने सन्देश यसले दिन्छ ।
समग्रमा, ‘को हौ तिमी’ आत्मचिन्तन र आत्मनिर्भरितामार्फत आन्तरिक शान्तिको खोजी गर्ने गजल हो ।
संगीत, स्वर र भिडियो
दार्शनिक भाव बोकेको यो गजललाई गायिका तथा संगीतकार बबिना भट्टराई ले मधुर स्वर र संगीतमा सजाएकी छिन् । लालकाजी श्रेष्ठको एरेन्जमा स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजललाई वरिष्ठ ध्वनी इन्जिनियर महेश्वरमान राजभण्डारीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गजलको भिडियो ए.जे. अजु ले निर्देशन गरेका हुन् भने अनिल विष्ट प्युठानी ले सम्पादन गरेका छन् । भिडियोमा बबिना स्वयं फिचर्ड भएकी छिन् । श्रृङ्गारमा प्रिया नगरकोटी, तबलामा भुवन गन्धर्व र गितारमा सञ्जिव बराइलीले साथ दिएका छन् । भिडियो नेपाली गजलबहार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
कलाकारहरूको अनुभूति
गायिका बबिना भट्टराईले गजल सार्वजनिक भएको खुसी साट्दै भनिन् : “अर्जु गिरीका गहिरा दार्शनिक भाव बोकेको यो गजललाई दर्शक–श्रोताले मन पराइदिने अपेक्षा राखेकी छु । तपाईंहरूको सल्लाह–सुझावले हाम्रो सिर्जनालाई अझ प्रगाढ बनाउनेछ ।”
गजलकार अर्जु गिरीले प्रतिक्रिया जनाउँदै भने : “म कसरी खुशी व्यक्त गरौँ अलमलमा परेको छु । आदरणीय बबिनाजी र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद । आफ्नै गजल सुन्दा मन दंग परेको छ।”
उनले यसै सन्दर्भमा एक शेर लेखेका छन् : “मर्ने छैन धीत अब हेरी आफ्नै गजल / लागेको छ आहा मिठो जेरी आफ्नै गजल…”
बबिना भट्टराईको संगीतयात्रा
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी…’ बोलको गीतबाट गायन यात्रामा प्रवेश गरेकी बबिनाले १६ वर्षभन्दा बढी समय नेपाली संगीत क्षेत्रमा बिताइसकेकी छिन् । सुगम संगीतदेखि भजनसम्म उनको आवाजले नेपाली श्रोता–दर्शकको मन जितेको छ ।
विशेषगरी भक्ति संगीतमा रुचि राख्ने बबिनाका ‘काले काले कृष्ण’, ‘मधुराष्टकम्’, ‘हरे कृष्ण महामन्त्र’, ‘अच्युतम् केशवम्’, ‘हनुमान चालिसा’, ‘गायत्री मन्त्र’ लगायतका भजन लोकप्रिय छन् । पछिल्ला वर्षमा उनले आफ्नै आध्यात्मिक युट्युब च्यानल श्री भजन्स् मार्फत ‘जय जय शम्भु’, ‘मनमा बसाएर राम’ र ‘शिव ताण्डव’ जस्ता भजन सार्वजनिक गर्दै आएकी छिन् ।
संगीत र भजनप्रतिको समर्पणसहित बबिनाले आफ्नो सिर्जनशीलतालाई अझ सबल बनाइरहेकी छिन् ।
प्रतिकृया दिनुहोस